
बिहिवार , बैशाख २, २०७८
परासी, २ वैशाख ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ स्थित समावेशी कृषि सहकारी संस्थालाई कृषि यन्त्र हस्तान्तरण गरिएको छ । संस्थाको अध्यक्ष इन्द्र कमल यादवको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त कृषि यन्त्र हस्तान्तरण गरिएको हो ।
कोइकाको आर्थिक सहयोग तथा गुड नेवरर्स इन्टरनेसनलको प्राविधिक सहयोग एवं सहमतिको आयोजनामा सञ्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट उक्त सहकारीलाई ६९ लाख ९७ हजार ५ सय ९५ रुपैयाँ बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको हो ।
कृषिमा आधुनिकरण गर्ने उद्देश्यले परियोजनाद्धारा संस्थालाई हस्तान्तरण गरिएको यन्त्रमा कम्बाइन हार्वेस्टर १ थान, ट्रयाक्टर १ थान, लेन्ड रेजेर १ थान, पोटेटो हार्वेस्टर १ थान, धान गहुँ काट्ने मेशिन ३ थान, पोटेटो पल्लान्टर १ थान, मिनि टिलर १ थान नगरपालिकाको रोहबरमा हस्तान्तरण गरिएको परियोजनाका फोकलपर्सन भिम प्रसाद शर्माले जानकारी दिए ।
यन्त्र हस्तान्तरण कार्यक्रममा नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले यस यन्त्रको बढी भन्दा बढी उपयोग गर्ने र उत्पादनमा वृद्धि गर्दै आम्दानीको श्रोत बलियो बनाउन सहकारीलाई सुझाव दिए । उनले यस यन्त्रहरुको प्रयोगले कृषिमा आधुनिकरण हुने र उत्पादन लागत पनि घटने विश्वास व्यक्त गर्दै यस क्षेत्रको कृषि क्षेत्रमा व्यवसायिकता ल्याउन र कृषकहरुलाई प्रोत्साहन गर्न सुनवल नगरपालिकाले थप सहयोग प्रदान गर्ने विश्वास दिलाए ।
कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा सुनवल नगरपालिका उपप्रमुख दधिराम अर्याल, वडा नम्बर २ वडा अध्यक्ष राजेन्द्र यादव, सहमति परियोजनाका फोकलपर्सन भिम प्रसाद शर्मा, गुड नेवर्स इन्टरनेशनल नेपालको टिम लिडर लोक बहादुर थारु, जीविकोपार्जन विज्ञ सुनिल दुलाल, सहकारीका सचिव यज्ञ पौडेल लगायतले कृषि यन्त्र राम्रोसँग सदुपयोग गरी सेवासंगै आर्थिक उन्नति प्रगति पनि गर्ने सुझाव दिए । समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा २ वटा नगरपालिका, ४ वटा गाउँपालिका र १३ वडामा सञ्चालित रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij