२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

होटल व्यवसायीले पर्यटन व्यवसायीका रुपमा मान्यता पाउनुपर्ने माग

बुधवार , बैशाख १, २०७८

बुटवल, १ वैशाख ।
होटल व्यवसाय गर्ने व्यवसायी पर्यटन व्यवसायीका रुपमा मान्यता पाउनका लागि प्रदेश सरकारले पर्यटन कानुन बनाउनु जरुरी रहेको बताइएको छ । ।पर्यटन ऐन २०३५ अनुसार ३ स्टार होटल भन्दा कम लेबलका होटल व्यवसायीे  पर्यटन व्यवसायीको मान्यतामा नपर्ने भएकाले ती व्यवसायीलाई पर्यटन व्यवसायीका रुपमा स्थापित गर्न सरकारले कानून निर्माण गर्न जरुरी भएको सरोकारवाला निकायले माग गरेका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीले बुटवलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले सरकारको पर्यटन नीति भित्र व्यवसायीलाई प्रवेश गराउनका लागि पनि कानून जरुरी रहेको औल्याए ।

३ स्टार लेबल भन्दा कमका व्यवसायीको लगानी सुरक्षित गर्न र उनीहरुलाई सरकारबाट पाउने सेवासुविधाका लागि पनि अनिवार्य पर्यटन कार्यालयमा दर्ता हुनुपर्ने र सो को कानुन प्रदेश सरकारले नबनाएकाले तत्काल सो सम्बन्धी कानून निर्माणको लागि प्रदेश सरकार जिम्मेवार हुन जरुरी रहेको अध्यक्ष शाहको भनाइ छ ।

कोभिडले थला परेको व्यवसायलाई राज्यले दिने राहतका कार्यक्रम पाउनका लागि पनि पर्यटन कार्यालयमा व्यवसाय दर्ता हुनुपर्ने हुन्छ तर कानुनको अभावमा होटल व्यवसाय स्थानीय तहमा दर्ता हुने र सुविधावाट वञ्चित रहनु परेको पीडा अध्यक्ष शाहले सुनाए । पर्यटन कार्यालयमा दर्ता नभएका व्यवसायीले सरकारले उपलब्ध गराएको विद्युतको डिमाण्ड चाज छुट पनि नपाउने, कोभिडको मारमा परेकालाई उपलब्ध गराउने सुविधा पनि नपाउने र भाडाको घरमा व्यवसाय संचालन गरेका व्यवसायीले बैक तथा वित्तीय संस्थावाट सो व्यवसाय देखाएर ऋण लिन समेत समस्या भएको उनले गुनासो गरे ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष माधव नेपालले कोभिडले थला पारेर व्यवसाय नै धरापमा परेको कारण केही व्यवसायी पेशावाटै पलायन भएको बताए । उनले लुम्बिनी प्रदेश मुलुककै मध्यभागमा रहेको र केन्द्र प्रदेश र जिल्लाबीच सकारात्मक सोचका साथ अगाडी बढन जरुरी रहेको धारणा राखे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी महासंघका सह–कोषाध्यक्ष मोदनाथ वेलवासे, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, पर्यटन उपाध्यक्ष समुन्द्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल सचिव अर्जुन थाप ालगायतले कोभिडले व्यवसाय समस्यामा परेको गुनासो गरेका थिए । त्यस अवसरमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुको साथै संघले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्तेपात्रो सार्वजनिक गरिएको थियो ।