
आइतवार , श्रावण १८, २०८२
नेकपा (एमाले) का तत्कालीन संगठन विभाग प्रमुख हुनुहुन्थ्यो जीवराज आश्रित । मदन भण्डारीसँगै उहाँको रहस्मय मृत्यु दासढुंगामा २०५० जेठ ३ गते भएको थियो । मदन र आश्रितको संयुक्त फाउण्डेसन बने, प्रतिष्ठान बने । शालीक बने । पार्क बने । बाटिका बने । छुट्टाछुट्टै पनि बने र बन्दैछन् र बन्ने छन् पनि ।
जीवराज आश्रित गुल्मीको चन्द्रकोट आँपारुखमा २००१ साउन १८ गते जन्मिनुभएको थियो । निम्नवर्गीय परिवारमा जन्मिएका उहाँ संघर्षका पर्यायवाची हुनुहुन्छ । पञ्चायती व्यवस्थाका विरुद्धमा मात्र होइन अभाव, भोक र शोकका विरुद्धमा उहाँ उरालिनुभएको थियो । आश्रितले आफूलाई आन्दोलनको आरनमा खारेर क्रान्तिका ओैजार बनाउनुभयो । जसका सहायतामा देशमा प्रजातन्त्र, लोकतन्त्र आयो । आजको लोकतान्त्रिक गणतन्त्र पनि उहाँजस्ता क्रान्तिकारीका जगमा उभिएको हो ।
रुपन्देहीको बुटवलमा समेत जीवराज आश्रितको सम्झनामा जीवराज आश्रित स्मृति प्रतिष्ठान गठन भयो । संस्थापक अध्यक्ष बन्नुभयो देवेन्द्र घिमिरे । उहाँकै पालामा स्मृति ग्रन्थ छापियो र जीवराजलाई जिउँदो बनाउने काम भयो । आलिशान भवन बन्यो । आश्रितको वृत्तचित्रको विजारोपण भयो । अमरप्रताप थापा, उमाकान्त बस्याल र चरण तिमिल्सिना पूर्वअध्यक्ष भइसक्नुभएको छ । यतिबेला युवराज घिमिरे अध्यक्ष भएर आफ्नो क्षमता प्रदर्शन गरिरहनुभएको छ ।
जीवराजको ८२ औं जन्मजयन्तीको अवसरमा आइतबार बुटवलमा रहेका माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता प्रतिष्ठानले आयोजना गरेको थियो । १७ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतियोगितामा सार्थक सहभागीता जनाएका थिए । उनीहरुले जीवराजको फोटोसँग आकर्षक चित्रकला कोरेका थिए ।
कालिका–मानवज्ञान मावि, बुटवलको कक्षा–११ मा फाईन आर्टस् पढ्ने विद्यार्थी भिमल राना प्रथम भएर ७ हजार रुपैयाँ, द्वितीय हुने पामिर एकेडेमीका राजन थापाले ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । तृतीय हुने दीप बोर्डिङकी पृष्टि पुन र होराइजनबाट सान्त्वना प्राप्त गर्ने दीपा थापाले क्रमशः ३ र २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभयो । सहभागी विद्यार्थी लाकारहरुलाई प्रमाणपत्र र नगद १ हजारका दरले रकम प्रदान गरिएको थियो ।
प्रतियोगिताको निर्णायकमा नेपाल व्यवसायिक कलाकार संघका कलाकारहरु एचबी रम्तेल, बेनु थापा दीलिप रसाईली हुनुहन्थ्यो । निर्णायक संयोजक बेनु थापाले कलाकारको कला कहिले नमर्ने र जीवन्त रहने बताउँदै बुटवलको कालिका मानवज्ञान माविमा फाईन आट्र्स पढाईको सुरुवात यसै शैक्षिक सत्रदेखि थालनी भएको सूचीकृत गराउनुभयो ।
हुन त प्रतिष्ठानले जीवराजको स्मृति दिवस र जन्मजयन्तीका अवसरमा उहाँसँग सन्दर्भित विचार विमर्श कार्यक्रम, कविता, निबन्ध, गीत प्रतियोगिता आयोजना गरिसकेको छ । भवनभित्रै संग्रहालय छ । त्यहाँ जीवराजले प्रयोग गर्ने कपडा, रेडियो, घडीलगायतका सामग्री राखिएका छन् । उहाँ दुर्घटित जीप, हृदयविदारक फोटो राखिएका छन् । त्यहाँ प्रतिष्ठानले निर्माण गरेको ‘जिउँदा जीवराज’ डकुमेन्ट्री हेर्न र सुन्न पाइन्छ ।
जीवराजलाई विद्यार्थीबीच चिनाउनका लागि चित्रकला प्रतियोगिता आयोजना गरिएको अध्यक्ष युवराज घिमिरेले बताउनुभयो । प्रथम उपाध्यक्ष कल्पना थापाले भन्नुभयो–‘बहुआयामिक जीवराजलाई चिनाउन र बुझाउन विद्यार्थी, युवालगायत सबैसँग प्रतिष्ठान पुग्ने अभियानमा छ । चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य नेत्र पन्थी, संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे, जीवराजकी जीवन संगिनी माया ज्ञवाली, अध्यक्ष, प्रथम उपाध्यक्ष लगायतले प्रमाणपत्र, ट्रफी र नगद वितरण गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका शिक्षा विज्ञ डीबी गुरुङ, जीवराजका सुपुत्र डा. सागर, जीवनसंगिनी माया ज्ञवाली, संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे, प्रमुख अतिथि नेत्र पन्थीलगायतले जीवराजको व्यक्तित्व र कृतित्व रक्षाका लागि सबैले आ–आफ्ना क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीद्वारा तयार पारिएका उत्कृष्ट फोटो प्रतिष्ठानमै फ्रेममा प्रेमपूर्वक सजाइने प्रतिष्ठानकी महासचिव विष्णु केसीले बताउनुभयो । उहाँले भन्नुभयो विद्यार्थीले जीवराजको चित्र कोरिरहँदा आगन्तुक धेरैका आँखा रसाए। एकपटक चित्रमा सबैले जीवराजको इतिहास खोजिरहे । वर्तमानमा अभाव खड्किरह्यो सबैलाई ।
अनुशासनमा कडा, व्यवहारमा नरम भएका जीवराजका समकक्षी देवेन्द्रले जीवराजलाई सबैकाबीच पुर्याउन सबैले पहल गर्नुपर्ने औंल्याउनुभयो । जीवराजका जीवनगाथा सबैले पढ्नुपर्छ, बुझ्नुपर्छ । यही नै आश्रितप्रतिको सच्चा श्रद्धासुमन हुने देवेन्द्रले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij