२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

रुपन्देही–३ उपनिर्वाचन : दल दर्ताका लागि आह्वान

शनिवार , श्रावण १७, २०८२

भैरहवा, १७ साउन । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।

आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

त्यस्तै असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति भने निर्वाचनमा उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बोहराको २०८१ चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ ।