२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

स्वदेशमै रोजगार प्रवर्द्धनका लागि युवाहरुलाई दक्षता सीप विकासमा जोड

शनिवार , श्रावण १०, २०८२

बुटवल, १० साउन । व्यवसायिक दक्षता तथा सीप अभावका कारण नेपालमा ठूलो श्रम शक्ति भएर पनि विदेश पलायनको समस्या थप जटिल बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । राज्यले उपयुक्त नीति बनाउन नसक्नु र श्रम शक्तिले उचित मूल्य नपाउँदा स्वदेशी उद्योगहरुले श्रमिक नपाउने तर, रोजगारकै लागि युवाहरु विदेशिने क्रम जारी रहेको उनीहरुको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजना तथा अन्तर्राष्ट्रिय श्रमिक संगठनको सहकार्यमा शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित सार्वजनिक रोजगार सेवालाई सुदृढ पार्न निजी क्षेत्रको सहभागीता सम्बन्धी कार्यशालामा नेपाली श्रमशक्ति र रोजगारीका अवसरबारे छलफल भएको हो । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य सचिव बाबुराम अधिकारीले रोजगार प्रवर्द्धन ग्राहो विषय नभए पनि यसको व्यवस्थापनमा कमजोरीहरु भएकाले सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।‘निजी क्षेत्र र सरकारले रोजगार प्रवर्द्धनमा कहाँ चुक्यौँ, गम्भीर समीक्षा गर्न खाँचो छ,’प्रमुख सचिव अधिकारीले भन्नुभयो, ‘नीतिगत वा संरचनागत क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरुलाई सरकारका तीनै तहमा पुर्याउने र बारम्बार घचघचाउने काम गर्न निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु ।’ 

निजी क्षेत्रसँग सँगै हिड्नका लागि लुम्बिनी प्रदेश सरकार सधै तयार रहेको बताउँदै उहाँले अब गम्भिर अनुसन्धान र अध्ययन गरी रोजगार प्रवर्द्धनमा लाग्न आग्रह गर्नुभयो । त्यस्तै लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले वैदेशिक रोजगारको भरपर्दो विकल्प नेपालमा अझै पनि सिर्जना हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले नमूना उत्पादन प्रणाली र सामाजिक रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताउँदै उहाँले युवालाई स्वदेशमै रोजगार सिर्जनाका लागि निजी क्षेत्रको भूमिका अहम रहने उल्लेख गर्नुभयो । 

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शान्ता ढकालले रोजगार प्रवर्द्धन तथा प्रदेशको आर्थिक समृद्धिका लागि आगामी आवधिक योजना निर्माण भइरहेको उल्लेख गर्नुभयो । ‘समृद्ध प्रदेश, गतिशिल निजी क्षेत्र’–भन्ने नारासहित योजना आयोगले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने गरी आवधिक योजना तयार पारेको उहाँले बताउनुभयो ।

विभिन्न निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी अन्तरसंवादमा रोजगार प्रवर्द्धन, श्रमिकहरुको सामाजिक सुरक्षा, निजी क्षेत्रको आवश्यकता र सरकारका भावी योजनाबारे समूहगत रुपमा छलफल गरिएको थियो । 

छलफलमा घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष गणेश अधिकारी, अन्तर्राष्ट्रिय श्रमिक संगठनका कार्यक्रम अधिकृत बसन्त कार्की, बुटवल औद्योगिक क्षेत्रका अध्यक्ष उपेन्द्र अग्रवाल लगायतले बोल्दै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गर्न सकेमा नेपाली उद्योगहरुले श्रमिकको अभाव झेल्नु नपर्ने र रोजगारका लागि युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको पनि अन्त्य हुने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलको अध्यक्षता तथा उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा पत्रकार प्रदीप आचार्यले समूहगत छलफलहरुमा सहजीकरण गर्नुभएको थियो ।