
बुधवार , श्रावण ७, २०८२
बुटवल, ७ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेकपा (एमाले) लाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषारापात भएको बताउनुभएको छ । मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपनि विभाजन चाहनेहरुको सपना तुहिएको उहाँले बताउनुभयो ।
पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार रुपन्देहीको बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष समेत रहनुभएका पौडेलले यस्तो बताउनुभएको हो ।
‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोशिष गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषारापात भएको छ’–पौडेलले भन्नुभयो–‘पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिष गर्ने तत्वहरु सपना विफल भएको छ ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उहाँको भनाइ छ । ‘सदस्यता नवीकरण गर्ने व्यवस्था हाम्रो पार्टीमा छैन । सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ । उहाँको सदस्यता स्थगित होइन, परित्याग हो । जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ’– पौडेलले भन्नुभयो ।
एमाले कमजोर बनाएर, बिग्रह ल्याएर रमाउन खोज्नेहरू विगतदेखि नै साइड लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘एमालेको आन्तरिक जीवन व्यवस्थित बनाउने काम हामी आफैले गर्नुपर्छ, अरुले सरोकार राख्न जरुरी छैन ।’ केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने भन्दै छिटो सुझाव दिन उहाँले आग्रह समेत गर्नुभयो ।
अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको पनि बताउनुभयो । उहाँले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको उल्लेख गर्दै सरकारले यी सबै प्रयत्नलाई चिर्दै अगाडि बढिरहेको बताउनुभयो ।
सरकार ढल्दैछ भनेर बारम्बार प्रचार गर्ने गरिएको, केही भएन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिंगो समाजलाई गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भन्नुभयो–‘यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको छ ।’
उहाँले काँग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी ०८४ सम्मै यो गठबन्धन कायम रहने पनि बताउनुभयो । ‘बाहिर जसरी गठबन्धन भत्किंदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन, शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको निर्माण भएको हो’–अर्थमन्त्री पौडेलले भन्नुभयो–‘आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बुधबारै रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर बोलबम धामको पनि अवलोकन गर्नुभएको छ । त्यस अवसरमा बोल्दै उहाँले बोलबम धामको विकासका लागि सरकारले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij