२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको : सभामुख घिमिरे

आइतवार , श्रावण ४, २०८२

काठमाडौं, ४ साउन । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । 

आईतवार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरुसँग संसद भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उक्त भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरुले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले निरङ्कुश राजतन्त्रको कठोर घेराभित्र नेपाल थिचिएको कारण तत्कालीन समयमा नेपालमो कला र साहित्यसँग सम्बन्धीत कार्यक्रमहरु आयोजना हुन नपाएको उल्लेख पनि गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘निरङ्कुश राजतन्त्रको साघुँरो घेराभित्र नेपाल छट्पटाइरहेको एउटा अफ्ठ्यारो स्थितिमा त्यहाँ कुनै वाक स्वतन्त्रता थिएन ।

अर्थात नेपाली जनता एउटा निरङ्कुश शासनको जाँतोमुनी पिल्सिएका थिए । आर्थिक स्थिति पनि मेरो बुझाईमा धेरै कमजोर थियो । अन्य सामाजिक, सांस्कृतिक स्वतन्त्रताका कुराहरुमा पनि त्यस्तै अवस्था थियो । त्यही बेलामा हामीले पहिलो चरणको स्वतन्त्रता प्राप्त गर्दै थियौं । त्यो भनेको पञ्चायत व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्था थियो, त्यहीबेला भुटानबाट ठुलो संख्यमा नेपाली मुलका धेरै नागरिकहरु लखेटिनु भयो ।

उनीहरुलाई स्वागत गर्नको लागि नेपाली जनताले फुलमाला लगाएर स्वागत गरेका थिए । फकिर्ने कोशिस गर्दा पनि भारत सरकारले बाटोमा सुरक्षा निकायहरु राखेर जान दिएन । हामी नेपाली र नेपाली मुलको भएको कारणले भूटान पुगेपनि पाँच पुस्तापछि नेपाली नागरिकलाई लखेट्ने काम गर्यो । त्यसकारण राष्ट्रियता के रहेछ भन्ने कुरामा भुटानी शरणार्थीहरु अझ धेरै अनुभव गर्नुभएको छ ।

त्यसपछि विश्वका विभिन्न देशमा रहनु भएका नेपाली भाषिहरुलाई एक ठाउँमा ल्याउने काम मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले गरेको छ । यसको अर्थ के हो भने हामी जुन मुलकबाट ओरिजिन भयौं । त्यसको पहिचान हाम्रो संस्कार, हाम्रो भाषा र संस्कृति र साहित्यको संरक्षण गर्न सहयोग गर्छ । त्यसकारण सबैले मिलेर संसारभर रहनुभएका नेपालीहरुलाई गास्ने कुराको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’

उहाँले विश्वभर रहेका नेपालीभाषीहरुलाई एउटै मञ्चमा ल्याउन मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता कार्यक्रमले ठूलो भुमिका खेलेको बताउनु भयो । संसारभर रहेका नेपालीहरुलाई गास्ने प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।