२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सशस्त्र प्रहरी रूपन्देहीद्वारा एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद

शुक्रवार , श्रावण २, २०८२

भैरहवा, २ साउन । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हे.क्वा., रुपन्देहीले आर्थिक वर्ष २०८१÷२०८२ मा १३ करोड रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ । गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म (एक वर्षमा) १३ करोड १० लाख ३९ हजार ९ सय ८९ मूल्य बराबरको सामान बरामद गरिएको जानकारी दिनुभयो । 

राजस्व छली गरी चोरी, निकासी/पैठारी गरी भारतबाट नेपालमा ल्याइएका सामान बरामद गरी भन्सार, राजस्व अनुसन्धान, स्थानीय तह र पशु प्लान्ट क्वारेन्टाईन कार्यालयहरुमा बुझाएको उहाँले बताउनुभयो । 
डीएसपी न्यौपानेका अनुसार सशस्त्र प्रहरी रुपन्देहीले ३७ लाख ३३ हजार ५ सय मूल्य बराबरको ब्रोईलर कुखुरा, ५६ लाख ९९ हजार ५ सय ६९ रुपैयाँ बराबरको किराना सामान, ४ लाख ६५ हजार  ६ सय ६७ बराबरको रासायनिक विषादी, २ लाख ९ हजार ९५ रुपैयाँ बराबरको हरियो तरकारी, ९५ लाख ५२ हजार ८९ रुपैयाँ बराबरको चिनी बरामद गरेको छ ।

त्यस्तै ७ लाख ८७ हजार ५ सय ५० बराबरको खाद्यान्न (दाल, चामल, चना), १४ लाख ९६ हजार २ सय ८५ बराबरको कस्मेटिक सामान, ९९ हजार ८ सय २ बराबरको भाडा वर्तन, ९ लाख बराबरको मोबाईल फोन, ५ लाख २१ हजार, ७ लाख ९६ हजार २ सय २३ बराबरको हार्डवेयर, मोटर, मोबाईल माटर्स, इलेक्ट्रिस ७५ लाख ७६ हजार ९ सय ८३, नगद (नेपाली तथा भारतीय रुपैयाँ) २० लाख ६० हजार, ४६ लाख ३ हजार ४ सय ८६ हजार मूल्य बराबरको आयूर्वेदिक तथा एलोपेथिक औषधी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसै गरी ३६ हजार मूल्य बराबरको मदिरा, २ लाख १६ हजार ६ सय ५० बराबरको पटका, १ लाख ५ हजार बराबरको पशु चौपाया, ६ लाख ४५ हजार बराबरको नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ढुंगा) बरामद गरिएको डीएसपी न्यौपानेले जानकारी दिनुभयो । ‘राजस्व कार्यालयसँग संयुक्त तथा एकल रुपमा २ करोड १९ लाख ३० हजार ८ सय ४५ मूल्य बराबरको सामान बरामद गरिएको छ, उहाँले भन्नुभयो । त्यस्तै २ करोड ७३ लाख ७७ हजार १ सय ७४ रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अवैध सामान ढुवानीमा प्रयोग भएका ट्रक, मिनी ट्रक, ट्याक्टर ८ वटा, कार, भ्यान, छोटा हात्ती) १० वटा, अटोरिक्सा ५ वटा, मोटरसाइकल १७५ र साईकल १० गरी २०८ वटा सवारीसाधनहरु समेत सशस्त्र प्रहरीले बरामद गरेको हो ।

अरु के–के गर्यो सशस्त्र प्रहरीले ?

सशस्त्र प्रहरीले मर्चवारी गाउँपालिका वडा नम्बर ७ मन्झरियामा बिओपी स्थापना गरेको छ । यससँगै जिल्लामा प्रस्तावित सीमा सुरक्षा गुल्म १, बिओपी ६ गरी सीमासँग सम्बन्धित ७ वटा कार्यालय भएका छन् । 
बेलहियामा नाकामा लागूऔषध तथा बिष्फोटक पदार्थको अवैध ओषारपसार नियन्त्रण गर्ने उद्देश्यले डग स्क्वाडसहित यात्रुहरु तथा सामानहरुको चेकजाँच गर्न सुरु गरिएको छ । डग स्क्वाडको परिचालन प्रभावकारी समेत देखिएको डीएसपी न्यौपानेले बताउनुभयो ।

यस अवधिमा खैरो हिरोइन, गाँजा लगायत लागूऔषधसहित ४ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइ आवश्यक कानूनी कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको उहाँले बताउनुभयो । यसै अवधिमा लागूऔषध नियन्त्रण सम्बन्धी २४ वटा सचेतनामूलक कक्षा तथा सडक नाटक विभिन्न विद्यालय तथा समुदायहरुमा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

‘यस अवधिमा १२८ वटा विभिन्न विपद् सम्बन्धी सचेतनामूलक कक्षाहरु विद्यालयहरु तथा समुदायमा संचालन गरिनुका साथै जिल्लास्थित अन्य सुरक्षा निकायहरुसहित विभिन्न प्रकारका विपद् उद्वरको ६ वटा सिमुलेश अभ्यासहरु गरिएको छ, ’उहाँले भन्नुभयो ।