२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश

सोमवार , आषाढ ३०, २०८२

दाउन्ने, ३० असार । निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।

राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरुमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारणले पहिलेको तुलनामा आधा भन्दा बढि व्यापार सुकेके  व्यापारीहरु बताउछन् ।

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आउनुभएका पदमबहादुर पोखरेलले विगत पाँच÷सातबर्षदेखि धुलो धुवाँ प्रदुषण झेल्नुपरेको बताउनु भयो । उहाँकाअनुसार बाटोले गर्दा ब्यापार चौपट छ ।

होटल व्यवसायी पोखरेलले भन्नुभयो ‘बाटो समयमै नसकिदाँ अहिले यो बाटो गाडीहरु चल्नै छाडेका छन् । सुनसान छ । पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ । अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पुरा हुन्छ की जस्तो लाग्छ ।’

व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उहाँले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताउनु भयो । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहेपनि तिब्र हुन नसक्नुमा व्यवसायीको आआफ्नै समस्या रहेको बताउनुहुन्छ । उहाँले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषि रहेको बताउनु हुन्छ ।

महासचिव दाहालले भन्नुभयो–‘निर्माण व्यवसायीहरुको आआफ्नै समस्या छ । राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिदाँ व्यवसायी अझ समस्या फसेका हुन् । ठाउँठाउँमा सिंहदरबार राज्यले भनिरहेको अवस्थामा तर उनीले गर्नुपर्ने सेवा र संरचना निर्माण गर्दा होस् नपुर्‍र्‍याएका कारणले सम्पूर्ण निर्माण कार्य ढिला भएको छ र नागरिकलाई गाह्रो परेको हो ।’

उहाँकाअनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ । निर्माणको काम द्रुत बनाउने बातावरण बनाइदिनुपर्छ ।