
आइतवार , आषाढ २९, २०८२
भैरहवा, २९ असार । रुपन्देही क्षेत्र नम्बर ३ मा २०८२ कार्तिक १७ गते उपनिर्वाचन हुने भएपछि उम्मेदवारहरुको चर्चा हुने थालेको छ । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दीपक बोहराको निधन भएपछि रिक्त उक्त ठाउँमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति घोषणा गरेको छ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले साउन महिनाको अन्तिम सातासम्ममा उम्मेदवार छनौट गर्ने भएको छ । साउनको अन्तिम साता आधिकारिक उम्मेदवारको घोषणा गरिने पार्टीको रुपन्देही जिल्ला इञ्चार्ज मोहम्मद अलीले जानकारी दिनुभयो । पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाएर उपनिर्वाचनको तयारीमा लाग्न केन्द्रीय समितिले निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
जसपाबाट पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । यादव अघिल्लो निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट जसपा, नेपालबाट प्रदेश सभा सदस्यको उम्मेदवार हुनुभएको थियो । तर, उहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार सन्तोष कुमार पाण्डेयसँग पराजित हुनुभएको थियो ।
नेता यादवले पार्टीले आफूलाई उम्मेदवारको रुपमा अघि अघि बढाउने निर्णय गरे सोही निर्णय अनुसार अगाडि बढ्ने बताउनुभयो । ‘राजनीति गरिरहेका छौं, राजनीति गरेपछि निर्वाचन त लड्नुपर्यो, ’उहाँले भन्नुभयो ।
त्यस्तै जसपाका जिल्ला इञ्चार्ज तथा युवा नेता मोहम्मद अलीले पनि उम्मेदवार बन्ने चाहना राख्नुभएको छ । अघिल्लो निर्वाचनमा अलीले रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
त्यसै गरी पार्टीका युवा नेता तथा समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष असलम अली पनि उम्मेदवार बन्न प्रयासरत हुनुहुन्छ । अली अघिल्लो निर्वाचनमा रुपन्देही–१ (२) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो ।
मधेश केन्द्रीत गठन गरेको ‘संघीय लोकतान्त्रिक मोर्चा’ मा भने अशोक राई नेतृत्वको जसपा छैन । उक्त मोर्चामा जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् । मोर्चाले रुपन्देही–३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवार मान्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij