
आइतवार , आषाढ २९, २०८२
(भानुभक्त आचार्यको योगदानको सन्दर्भमा एक ऐतिहासिक माग)
‘भाषा राष्ट्रको आत्मा हो । आत्माबिहीन राष्ट्र कहिल्यै मजबुत हुँदैन ।’ नेपाली भाषा हाम्रो पहिचान हो, हाम्रो सम्पर्क, संस्कृति र राष्ट्रको अस्तित्वको मूल आधार हो । यस्तो भाषाको संरक्षण र प्रवद्र्धन हाम्रो कर्तव्य मात्र होइन, हाम्रो उत्तरदायित्व हो । यसै सन्दर्भमा नेपाली भाषाको इतिहासमा स्वर्ण अक्षरले लेखिनुपर्ने नाम हो–आदिकवि भानुभक्त आचार्य ।
असार २९–एक ऐतिहासिक दिन
वि.सं. १८७१ सालको असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्त आचार्यको जन्म भयो । उहाँले नेपाली भाषाको इतिहासमा पहिलोपटक धार्मिक साहित्यलाई नेपालीमा अनुवाद गर्दै जनसाधारणसम्म पुर्याउने कार्य गर्नुभयो । संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली जनताले बुझ्ने भाषामा प्रस्तुत गर्नु कुनै सामान्य कार्य थिएन । त्यो कार्य साँस्कृतिक लोकतन्त्रको पहिलो सशक्त उदाहरण बन्यो ।
भानुभक्तको योगदान–साहित्यिक क्रान्तिको सुरुवात
१. नेपाली भाषामा पहिलोपटक रामायण लेखन–सत्ताको भाषा संस्कृतबाट जनताको भाषा नेपालीमा रूपान्तरण ।
२. साहित्यलाई बौद्धिक वर्गबाट सर्वसाधारणसम्म ल्याउने साहस–‘घाँसी’ बाट प्रेरित भइ आफूले पनि समाजको लागि केही गर्नुपर्ने भावना विकास ।
३. शुद्ध, सरल र काव्यमय शैलीमा लेखन–जसले जनमानसमा सजिलै प्रभाव पार्न सक्यो ।
४. भाषाको मर्यादा र शक्तिमा विश्वास–जसले नेपाली भाषालाई राष्ट्र निर्माणको माध्यम बनायो ।
नेपाली भाषा र राष्ट्रिय एकता
नेपाली भाषा कुनै जात, धर्म वा वर्गको सम्पत्ति होइन । यो भाषा हरेक नेपालीको साझा पहिचान हो । नेपाल एक बहुभाषिक राष्ट्र भए तापनि, नेपाली भाषा नै सबै नेपालीलाई जोड्ने साझा सूत्र हो । यही भाषाको माध्यमबाट राज्य सञ्चार, प्रशासन, न्याय, शिक्षा र राष्ट्रिय एकता सम्भव भएको छ । भानुभक्तले जब भाषालाई जनस्तरसम्म ल्याउने काम गरे, तबबाट नेपाली भाषाको सार्वभौमिकता सुरु भयो । भाषाको लोकतन्त्र भानुभक्तबाट सुरू भयो भने भाषाको गणतन्त्र हालको पुस्ताले जोगाउनुपर्छ ।
वर्तमान चुनौती–नेपाली भाषाको अस्तित्व संकटमा ?
आजको ग्लोबल युगमा अंग्रेजी, हिन्दी र अन्य विदेशी भाषाको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ ।
– बालबालिकालाई अंग्रेजीमै बोल्न सिकाउने प्रवृत्ति
– सरकारी कागजातमा नेपाली भाषाको बढ्दो उपेक्षा
– मिडिया र प्रविधिमा नेपाली भाषाको गौणता
यी सबै कुरा संकेत हुन् कि अब नेपाली भाषा सजग बनाइनुपर्ने बेला आइसकेको छ । नेपाली भाषा केवल बोलचालको माध्यम होइन, यो हाम्रो स्वाभिमान, हाम्रो इतिहास र हाम्रो आत्मीयता हो ।
विदेशमा भानुभक्तको सम्मान–हामीभन्दा बढी ?
दार्जिलिङ, सिक्किम, भूटान, मणिपुर, आसाम लगायतका नेपाली भाषी क्षेत्रहरूमा असार २९ लाई ‘भानु जयन्ती’ का रूपमा भव्य रूपमा मनाइन्छ । त्यहाँका विद्यालयहरूमा कविता प्रतियोगिता, निबन्ध लेखन, वक्तृत्वकला, भजन प्रतियोगिता र साँस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ । तर, दुःखको कुरा ‘स्वयं नेपालमा, जहाँ भानुभक्त जन्मिनुभयो, उहाँको सम्मान अझै संस्थागत रूपमा स्थापित भएको छैन । राज्यले उहाँको योगदानलाई स्वीकार गरे तापनि, उहाँको जन्मदिनलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको छैन ।
किन आवश्यक छ असार २९ लाई नेपाली भाषा दिवस घोषणा गर्नु ?
१. भाषाको संरक्षण र प्रवद्र्धनका लागि राष्ट्रिय चेतना जगाउन ।
२. नयाँ पुस्तालाई भाषाप्रति जिम्मेवार बनाउने माध्यमको रूपमा ।
३. साहित्य, पत्रकारिता, शिक्षा, प्रशासन लगायत क्षेत्रमा नेपाली भाषाको प्रयोग बढाउन प्रेरणा दिन ।
४. भानुभक्तको योगदानको सम्मान र स्मरणका लागि ।
५. भाषिक एकता र सामाजिक समरसता प्रवद्र्धन गर्न ।
आजको आवश्यकता–भाषिक पुनर्जागरण
नेपालमा धेरै दिवसहरू मनाइन्छन्–जनयुद्ध दिवस, गणतन्त्र दिवस, संविधान दिवस । यी सबै दिवसहरूले राजनीति र शासनको सम्झना दिलाउँछन् । तर, नेपाली भाषा दिवसले जनतासँगको सम्बन्ध, पहिचान, संस्कृति र आत्मालाई सम्मान गर्छ ।
यदि राष्ट्रमा भाषा सकिन्छ भने राष्ट्रको आत्मा मर्छ । त्यसैले अबको पुस्ताले असार २९ लाई केवल भानु जयन्तीको रूपमा होइन, ‘नेपाली भाषा दिवस’ को रूपमा संस्थागत रूपमा मनाउनुपर्ने आवाज बुलन्द गर्नुपर्छ ।
निष्कर्ष : भानुभक्तको सम्झनामा भाषाको सम्मान
हामीले स्वर्गीय भानुभक्त आचार्यलाई सम्झनु भनेको केवल उहाँको तस्वीर राखेर फूल चढाउनु होइन, उहाँको दर्शनलाई व्यवहारमा उतार्नु हो ।
– जब बच्चाले गर्वका साथ नेपाली बोल्न सिक्छ
– जब सरकारी कर्मचारीले नेपाली भाषामा पत्राचार गर्छ
– जब शिक्षकले नेपाली भाषामा शिक्षाको गहिरो सन्देश दिन्छ
– जब नेपाली भाषामा प्रविधि र विज्ञान लेखिन्छ
त्यो दिन भानुभक्तको सपना पुरा भएको दिन हुनेछ । त्यसको सुरुवात हुनुपर्छ–असार २९ बाट । असार २९–अबको पुस्ताको लागि ‘नेपाली भाषा दिवस’ होस् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij