२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सुनचाँदी व्यवसायीको आन्दोलनप्रति चेम्बर अफ कमर्स रुपन्देहीको ऐक्यबद्धता

बिहिवार , आषाढ २६, २०८२

भैरहवा, २६ असार । चेम्बर अफ कमर्स, रुपन्देहीले सुनचाँदी व्यवसायीको आन्दोलनप्रति आफ्नो समर्थन र ऐक्यबद्धता रहेको जनाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै संस्थाले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत कर र हिरा, जवाहरात तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करप्रति गम्भिर आपत्ति जनाउँदै उक्त निर्णयको खारेजीको माग गरेको छ ।

अध्यक्ष दर्पण श्रेष्ठद्वारा जारी विज्ञप्तीमा यस किसिमको कर नीतिले देशको परम्परागत सुनचाँदी व्यवसायीलाई संकटमा पार्ने मात्र नभइ कालोबजारी, अवैध तस्करी र व्यवसायको अस्वस्थ प्रतिष्पर्धालाई प्रोत्साहन गर्ने स्पष्ट संकेत देखिने उल्लेख गरिएको छ । साथै लाखौं व्यवसायी तथा यस क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न कारीगर, व्यवसायी र मजदूरहरुको जीविकामा गहिरो असर पर्ने देखिएको अध्यक्ष श्रेष्ठले बताउनुुभयो ।

‘सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले विगत एक महिनाबाट गरिरहेको आन्दोलनप्रति अत्यन्तै चिन्तित छौं । हालसम्म पनि नेपाल सरकारद्वारा सम्बोधन गर्न नसकेको हुँदा अन्यायपूर्ण कर नीतिविरुद्ध शान्तिपूर्ण आन्दोलनप्रति चेम्बर अफ कमर्स, रुपन्देही पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दछ, ’विज्ञप्तीमा उल्लेख छ । 

उद्योग, व्यापार र श्रमिको हितविपरीत कुनै पनि नीति लागू गर्न नहुने र उक्त निर्णयलाई पुनर्विचार गर्दै देशका साना र मझौला व्यवसायीहरुको हितमा यथाशिघ्र संवादको माध्यमबाट समाधान निकाल्नुपर्ने अध्यक्ष श्रेष्ठले माग गर्नुभएको छ ।