२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

‘ईट्टाको न्यूनतम लागत मूल्य नपाउँदा उद्योग धरासायी हुँदै’

सोमवार , आषाढ १६, २०८२

भैरहवा, १६ असार । ईट्टा उद्योगीले ईट्टाको न्यूनतम मूल्य नपाउँदा हाल ईट्टा उद्योगहरु धरासायी हुँदै गएको गुनासो गरेका छन् । ईट्टाको माग कम भएको र उत्पादनमा पनि कमी आएको उद्योगीको भनाइ छ ।

भैरहवामा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको २५ औं वार्षिक साधारण सभा तथा २७ औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष अजय कुमार गुप्ताले हाल विभिन्न पालिकाहरुले माटो उत्खनन् तथा ढुवानीमा रोक लगाउँदा ईट्टा उद्योगहरुले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने माटो तथा भस्कट आपूर्तिमा समस्याका कारण ईट्टा उत्पादनमा समस्या आएको बताउनुभयो । 

‘देशको आर्थिक तरलताको अभावले गर्दा उपभोक्तामा निराशा छाएको कारण देशमै समग्र विकास निर्माणको कार्यमा सुस्तता आएकोले ईट्टाको मागमा व्यापक कमी आएको छ, ’उहाँले भन्नुभयो । कच्चा पदार्थको रुपमा रहेको माटो, भस्कट, डिजल, मजदूरको ज्याला, विभिन्न माध्यमबाट लगाइएको अव्यवहारिक एवं अधिकतम करहरुले ईट्टाको लागत बढेको उहाँको गुनासो छ । निर्माण कार्यलाई दिगो एवं गुणस्तरीय बनाउन निर्माण कार्यमा ईट्टाको प्रयोगलाई प्राथमिकता दिन आवश्यक रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।

कार्यक्रममा नेपाल ईट्टा व्यवसायी महासंघका अध्यक्ष शंकर बहादुर चन्दले ईट्टा उद्योगीहरूलाई स्थानीय सरकारसँगै प्रहरी–प्रशासनबाट पनि असहयोग हुँदै आएकोले त्यसमा सुधारको आवश्यकता रहेको बताउनुभयो । उहाँले व्यवसायीहरूको माग कतैबाट पनि सम्बोधन नभएको गुनासो गर्नुभयो । 

महासंघका पूर्वअध्यक्ष महेन्द्र बहादुर चित्रकारले व्यवसायमा कार्टेलिङ गर्ने मनसाय नभए पनि ईट्टा व्यवसायीहरु आपसी अस्वस्थ प्रतिष्पर्धाबाट जोगिनका लागि आपसी सरसल्लाहबाट मूल्य कायम गर्न आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले व्यवसायीहरूलाई एकजुट भएर जिल्लाभरी इट्टाको समान मूल्य लागू गरेर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले संविधानले प्राकृतिक साधन र स्रोतमा तीनवटै सरकारलाई अधिकार दिएको बताउँदै सबैले एक–अर्कालाई दोष दिँदै कर्तव्यबाट पन्छिने गरेको दावी गर्नुभयो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले उद्योगी–व्यवसायी समस्यामा रहेको बताउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले ईट्टा उद्योग सञ्चालन गर्न धेरै समस्या झेल्नुपर्ने बताउनुभयो । उहाँले राज्यको कारण जटिल सिर्जना भएको बताउनुभयो ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले  मुलुकमा लोकतन्त्र र गणतन्त्र आए पनि त्यसको अनूभुति ईट्टा व्यवसायीले गर्न नपाएको बताउनुभयो ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।साना तथा घरेलु उद्योग महासंघ, रुपन्देहीका अध्यक्ष टंक अधिकारीले ईट्टा उद्योगीका समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले ईट्टा उद्योग संकटमा परेको बताउनुभयो ।

कार्यक्रममा पत्रकारिताको माध्यममार्फत ईट्टा व्यवसायको प्रबद्र्धनमा सहयोग पुर्याएको भन्दै पत्रकार राधेश्याम विश्वकर्मा र खेमराज रेग्मीलाई सम्मान गरिएको थियो । विश्वकर्मा र रेग्मीलाई जनही ११ हजार रुपैयाँ नगद तथा कदरपत्रद्वारा सम्मान गरिएको हो ।