२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भविष्यको आधार तयार पार्दै बुटवल, यसरी हुँदैछ पूर्वाधार र मानव विकास

आइतवार , आषाढ १, २०८२

सुुमन रश्मी श्रेष्ठ 
बुटवल, १ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘बुटवललाई आम मानिसको रोजाइको शहर’ बनाउने दृढ संकल्पसहित विविध विकास परियोजनाहरू अघि बढाएको छ । बुटवल उपमहानगरको ‘समानता, स्वाभिमान र अवसर बस्न योग्य बुटवल शहर’ भन्ने रानालाई सार्थक बनाउनका लागि यहाँ सञ्चालन गरिएका ठूला–ठूला परियोजना र विभिन्न सामाजिक गतिविधिले आधार तयार पार्दै गएका छन् । 
उपमहानगरले वर्तमानलाई मात्र भन्दा पनि भावी पुस्ताका लागि समेत बुटवलको परिकल्पना गरेको नगरप्रमुख खेलराज पाण्डेय दावी गर्नुहुन्छ ।

अंग्रेज शासकलाई परास्त गरी बिजय हासिल गरेको जितगढीमार्फत वीरताको गाथा सुनाउने बुटवल, मानव विकासको क्रमसँगै रामापिथेकसको विचरण भूमि पनि हो । तिनाउ नदीको समीपमा रहेको बुटवल, तराई, पहाडको संगम हो । नून खेप्न आउनेहरुको पुरानो बटौली, इतिहासको विरासत हो भने भविष्यको विराट सहर हो । बुटवलको उत्तरतिर पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणतिर तिलोत्तमा नगरपालिका एवं शुद्धोधन गाउँपालिका, पूर्वमा देवदह नगरपालिका र पश्चिममा सैनामैना नगरपालिका रहेको छ ।

butwal-sub metro.jpg

कूल १ सय एक वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको बुटवलको जनसंख्या २०७८ सालको जनगणना अनुसार १ लाख, ९५ हजार, ५४ जना रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरले बुटवलमा बसाइँ सरेर आउनेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । कृषि, व्यापार, पर्यटन, पशुपालन र औद्योगिक विकासले फड्को मार्दै गएको बुटवल देशकै नमूना शहरको रुपमा विकास हुने क्रममा छ ।

विकासका आधार भौतिक विकासमात्र होइन, सामाजिक, नैतिक, साँस्कृतिक, पुरातात्विक, साहित्य, कला, सभ्यताका साथै पर्यटन प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिकाले समग्र विकासमा आफ्नो सामथ्र्य प्रदर्शन गर्दै आइरहेको छ । व्यवसायिक एवम् लगानीमैत्री वातावरणका दृष्टिले आर्थिक केन्द्रका रुपमा बुटवल उत्कृष्ट रहेको पाइन्छ । बुटवलले आजका लागि मात्रै होइन भविष्यका लागि समेत महत्वपूर्ण आधारहरु तयार पार्दै गएको छ । 

१. सडक पूर्वाधार तथा सौन्दर्यकरण 

बुटवल उपमहानगरपालिका शहरी पूर्वाधार बिकास महाशाखा प्रमुख गौतम रौनियारका अनुसार बुटवलमा करिब ३ सय किलोमिटर सडक छन् । त्यसमध्ये ७० प्रतिशत बढी सडक कालोपत्रे भएका छन् भने केही कालोपत्रे हुने क्रममा छन्, केही ग्राभेल भएका छन् । बुटवलका भित्री सडकहरू पक्की र चौडा बनाइएका छन्, केही निर्माण भइरहेका छन् । साथमा ट्राफिक लाइट, स्मार्ट स्ट्रीट लाइट र हाइमास्ट बत्तीलाई उपमहानगरले विशेष जोड दिएको छ । 

kalopatra.jpg

संघीय सरकारको बजेटमा बुटवलको रात्रीकालिन बजारको रुपमा विकास हुँदै गएको कालिकापथमा विद्युतको हाइटेन्सन् लाइन व्यवस्थित गर्न मोनोपोल गाड्ने काम सुरु भएको छ । बुटवलका जनताले लामो समयदेखि हैरानी व्यहोर्दै आएको राजमार्ग चौराह–गोलपार्क सडक मर्मतले गति लिएको छ । यो सडक निर्माणसम्पन्न भएपछि बुटवलको एउटा समस्या हुनेछ । बुटवलका सडकलाई उज्यालो बनाउन उपमहानगरले विभिन्न ठाउँमा ३३ वटा हाइमस्ट लाइट जडान गरेको छ । साथै यो वर्ष थप ३१ ठाउँमा हाइमस्ट लाइट जडान गर्ने योजना रहेको नगरप्रमुख पाण्डेयले बताउनुभयो । 

 

शहरको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक चोक, मिलनचोक र कालिकाचोकमा ट्राफिक लाईट जडान गरिएको छ भने राजमार्ग चौराह, अस्पताल लाईन र गोलपार्कमा थप ट्राफिक लाइट जडानका लागि काम अगाडि बढाइएको उनले बताए । यसका साथै बुटवल–गोरुसिंगे सडक विस्तार गरी ४ लेन बनाउने काम अगाडि बढेको छ । जसको फाइदा बुटवलले लिन पाउने छ । 

butwal road.jpg

२. शिक्षा र स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन

गुणस्तरीय शिक्षालाई उपमहानगरले प्राथमिकताका साज बजेट विनियोजन गरी कार्यान्वयनमा गएको छ । त्यसै गरी बुटवल टेक्निकल इन्स्टिच्युट र आम्दा अस्पतालमा प्यारामेडिकल र स्नातक–स्तरका प्रशिक्षण सुरु भएका छन् ।  बुटवलमा सञ्चालिन मुलुककै नमूना सामूदायिक विद्यालयहरु तथा निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएका शैक्षिक संस्थाहरुले विगतदेखि उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । यहाँका शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधारदेखि अन्य शैक्षिक वातावरण सुधारका लागि उपमहानगरले कूल बजेटको २६ प्रतिशत बजेट शिक्षामा छुट्याएको छ । 

मोतीपुर र बेलबासमा १५÷१५ शैय्याको अक्सिजन–सक्षम अस्पताल र आम्दा अस्पताललाई ३०० शय्याको स्तरोन्नति केन्द्रमा परिवर्तन गर्ने योजना उपमहानगरले अघि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले गौरव आयोजनाको रुपमा अघि बढाएको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक १२ गते भवन निर्माणको काम तीव्रताका साथ अघि बढेको छ । 

यो योजना सम्पन्न भएपछि बुटवल एक सम्पन्न स्वास्थ्य हबको रुपमा स्थापित हुने अपेक्षा गरिएको छ । बुटवलमा निजी क्षेत्रको लगानीमा समेत सुविधा सम्पन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुले सिंगो प्रदेशलाई नै सेवा उपलब्ध गराउँदै आएका छन् भने सेवालाई थप विशिष्टीकृत गर्ने योजनाले बुटवलका लागि एक महत्वपूर्ण आर्थिक समृद्धिको आधार स्वास्थ्य पनि हुनेछ । उपमहानगरले सबै वडाहरुमा स्वास्थ्य केन्द्रहरु सञ्चालनमा ल्याउने योजना अनुसार वडा नम्बर ९ बाहेक सबै वडाहरु (१८ वटा वडा) मा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । 

३. कृषि, हरियाली र वातावरण

उपमहानगरले कृषियोग्य जमिन कायम राख्न बीउ र उपकरण अनुदान, दुग्ध उत्पादन सहायता, कौशीखेती सुविधा लगायत उपायहरू अगाडि बढाएको छ । खुला स्थानमा वृक्षरोपण अभियान र नदी किनारामा हरियो गल्ली परियोजना लागू गरिएको छ । उपमहानगरले ३० विगाह क्षेत्रफलमा मकै पकेट क्षेत्र विकासका लागि वडा नम्बर १४ देखि १९ का ३३ जना किसानलाई गत आर्थिक अनुदान उपलब्ध गराएकोमा त्यहाँका किसानले वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । त्यसै गरी विभिन्न कृषि उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने अभियानलाई उपमहानगरले प्राथमिकता दिएको नगरप्रमुख पाण्डेयले बताउनुभयो । 

बुटवल वडा नम्बर ६ मा सञ्चालनमा रहेको कृषि उपज थोक बजार केन्द्रबाहेक सेमलारमा संघीय सरकारको लगानीमा निर्माण गर्ने भनिएको कृषि उपज थोक बजार केन्द्रले यहाँको उत्पादन वृद्धिका लागि ठूलो सम्भावनाको उजार गर्ने अपेक्षा गरिएको छ । 

४. उर्जा र नवप्रविधि

८.५ मेगावाट क्षमताको बुटवल सोलार प्रालि.परियोजना सञ्चालनमा आएको छ, जसले राष्ट्रिय ग्रीडसँग कनेक्शन पाएको छ । भूमिगत विद्युत् केवल तथा आधुनिक सडक–बत्ती प्रणालीमा लगानी जारी छ । 

५. पर्यटन र साँस्कृतिक संरक्षण

बुद्ध सर्किट निर्माणदेखि उत्सर्ग गर्ने पर्यटन मार्ग (लुम्बिनी–बुटवल–मुक्तिनाथ) निर्माण, जितगढी किल्ला–रामापिथेकस जस्ता ऐतिहासिक स्थललाई पुनजीवित गर्ने योजना अघि बढाइएको छ । बटौली संरक्षण परियोजनाले ४२ पुराना घरलाई सांस्कृतिक शैलीमै पुनर्निर्माण गर्ने उद्देश्य राखिएको छ । जितगढी किल्ला र नुवाकोट, मणिमुकुन्द सेन उद्यान (फूलबारी), बटौली क्षेत्र, सिद्धबाबा मन्दिर, रामापिथेकस पार्क, हिलपार्क, ग्लोबल पिसपार्क, कपरकट्टी ताल र नरैनापुर ताल लगायतका क्षेत्रको बिकास गर्दै आन्तरिक तथा बाह्य पर्टक भित्र्याउने उपमहानगरले योजना बनाएको छ । बुटवलदेखि पाल्पाको बसन्तपुर डाँडा तथा बुटवलदेखि नुवाकोट डाँडासम्म केवुलकार सञ्चालनमा ल्याएर निजी क्षेत्रले समेत यहाँको पर्यटन विकासमा ठूलो भूमिका खेलेका छन् । 

Jit-Gadhi.jpg

६. आर्थिक केन्द्र र व्यवसाय सहर

बुटवलमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रले यहाँको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । यसबाहेक बहुउद्देश्यीय सिटी सेन्टर निर्माण भइरहेको छ, जसबाट पर्यटन र व्यापार विस्तार हुनेछ । देशकै पहिलो ढुवानी ग्राम स्थापना गरिएको छ, जहाँ भारी मालसामानलाई सिधै शहरमा दिन सकिन्छ । यसका साथै वि.स. २०१० मा स्थापना भएको बुटवल औद्योगिक क्षेत्र पर्याप्त नभएपछि डेढ दशक अघिदेखि मोतिपुर औद्योगिक क्षेत्र स्थापनाको योजना अघि बढेको छ । यो योजना सफलमा भएमा बुटवमा थप औद्योगिक लगानी भित्रिनेछ । त्यसै गरी मैनावगरको अटो भिलेजलाई थप व्यस्थित गरी सञ्चालनमा ल्याउन उपमहानगरले योजनाबद्ध काम गरिरहेको छ । 

७. स्वसहायता, रोजगार र उद्यमशीलता

गृहिणी महिला, युवा र श्रमशक्ति समावेश गरी स्वरोजगार तालिमहरू (सिलाई, प्लम्बिङ, कम्प्युटिङ, फेसन डिजाइन) सञ्चालन भइरहेको छ । १ हजार बढी महिलालाई उद्यमशीलता कार्यक्रममार्फत जोड्ने लक्ष्यसहित उपमहानगरले विभिन्न समयमा सीपमूलक तालिमहरु सञ्चालन गरिरहेको छ ।

sipmulak talim.jpg

लगानी प्रवद्र्धन गर्दै कर छूट, वैदेशिक रोजगारी न्यूनीकरण र कृषि–उद्योगमा सुविधा प्रवाह गर्ने योजना उपमहानगर अघि सारेको छ ।

mahila sip talim.jpg

उपमहानगरले समावेशी सहर, हरियो र स्मार्ट सहर, सहकारी विकास, साँस्कृतिक पहिचान, लगायतका विषयलाई प्राथमिकताकासाथ अघि बढाएको नगर उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो । बुटवल उपमहानगरले भौतिक पूर्वाधार निर्माणसँग मात्र सीमित नरहँदै मनोविकास, मानव संसाधन र दीर्घकालीन योजनातर्फ ठोस कदम चालेको छ ।

jagga napi.jpg

आगामी वर्षहरूमा यी परियोजनाहरू पूर्ण भएका खण्डमा, बुटवल केवल रुपन्देहीको केन्द्र होइन, समग्र नेपालकै एक अग्रगामी, हरित, स्मार्ट र सर्वाङ्गीण विकासको नमूना शहर बन्ने अपेक्षा गरिएको छ ।