
शुक्रवार , जेठ १७, २०८२
भैरहवा, १६ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले बजेट कृषि र उत्पादनमुखी एवं निजी क्षेत्रमैत्री देखिएको बताएको छ । बिहीबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट कृषि र उत्पादनमूखी एवं निजी क्षेत्रमैत्री देखिएको बताएको हो ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले शुक्रबार विज्ञप्ती जारी गर्दै निजी क्षेत्रसँग सम्बन्धित सुझावहरु बजेटमा सम्बोधन गरिएकोले बजेट स्वागतयोग्य रहेको जनाएको हो । महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा बजेटले समग्र निराश बनेको निजी क्षेत्रलाई उत्साहित बनाएकोले आर्थिक चलायमान हुने विश्वास लिइएको बताइएको छ ।
‘नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले दिएका विभिन्न सुझावहरु खाद्यान्न लगायतमा भन्सारमा लिदै आएको अग्रिम कर खारेजी, एक्जिम कोडमा बैंक ग्यारेण्टी खारेज गुर्नपर्ने, भैरहवा सेज सञ्चालनका लागि जग्गाको भाडा दर घटाउने विषय, युवा उद्यमशीलताको लागि न्यूनतम ब्याजदरमा ऋण प्रदान, समस्यामा रहेका उद्योगी व्यवसायीहरुलाई ब्याजमा सहुलियत तथा ऋण पुर्नतालिकीकरण, डिजिटल भुक्तानीमा मुल्य अभिवृद्धि कर हटाउनुपर्ने लगायतका आर्थिक सुझावहरु एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनको लागि यहाँबाट उडान गर्न एयरलायन्स कम्पनीहरुलाई सुविधा प्रदान गर्ने, तथा यो आर्थिक वर्षभित्र भैरहवा आईसीपी निर्माण सम्पन्नगर्न जस्ता पूर्वाधारका विषयहरु समेत समेटिएर बजेट आउनुले लुम्बिनी प्रदेशका निजी उद्यमी व्यवसायी, पर्यटन व्यवसायीहरुमा उत्साह जगाएकोले बजेटलाइ सकारात्मक रुपमा लिएका छौं, ’विज्ञप्तीमा उल्लेख छ ।
तर, ठूलो आकारको बजेट, न्यून राजस्वको परिचालन भइरहेको सन्दर्भमा लिएका बजेट कतिपय योजनाहरुको कार्यान्वयनमा चुनौती रहेको अध्यक्ष शर्माले बताउनुभयो । यसलाई आगामी दिनमा मौद्रिक नीति एवं निर्देशिकामार्फत कसरी सम्बोधन हुने हो भन्ने विषयहरुले बजेटको सफलता निर्धारण गर्ने उहाँको भनाइ छ । सरकारलाई बजेट कार्यान्वयनको पाटोमा ध्यान दिन अनुरोध गर्दै अध्यक्ष शर्माले समग्रमा बजेट सकारात्मक देखिएको बताउनुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij