२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सडक संरचना कमजोर भएपछि भन्सार बिन्दुमै भारमिलान गर्न निर्देशन

बुधवार , जेठ ८, २०८२

भैरहवा, ७ जेठ । अत्याधिक भारवहनका कारण सडक संरचना कमजोर हुँदै गएपछि रुपन्देही प्रशासनले भन्सार बिन्दुमै भारमिलान गर्न निर्देशन दिएको छ । अत्यधिक भारवहनका कारण राजमार्गका पुल भाँचिन र सडक भत्किन थालेपछि भन्सार बिन्दुमै भारमिलान गर्न व्यवसायीलाई निर्देशन दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सरोकारवालासहितको बैठकले भारतबाट आउने मालबाहक सवारीसाधनले क्षमताभन्दा बढी तौल ल्याए नल्याएको एकीन गरेर मात्र गन्तव्यमा पठाउने गरी निर्णय गरेको छ ।

बैठकमा भएको निर्णयबारे जानकारी दिदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले क्षमताभन्दा बढी तौल लिएर आएका सवारीसाधनको भारमिलान गरेर मात्र गन्तव्यमा पठाउने सहमति भएको बताउनुभयो ।
बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय मालबाहक सवारीसाधनका कारण राजमार्ग भत्किनुका साथै केही महिनाको अन्तरालमा दुईवटा पुल भाँचिएपछि रुपन्देही प्रसाशनले ओभरलोड नियन्त्रणमा कडाइ गरेको प्रजिअ घिमिरेले उल्लेख गर्नुभयो ।

जिल्लास्थित सुरक्षा निकाय, यातायात व्यवसायी र सरोकारवालाहरुको उपस्थितिमा बैठक बसी निर्णय गरेर सम्बन्धित निकायमा कार्यान्वयनका लागि परिपत्र गरिएको प्रजिअ घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, ‘बिहीबारदेखि निर्णय कार्यान्वयन प्रक्रियामा कडाई गर्छौं ।’

निर्देशन कार्यान्वयन गर्न असहज : उद्योगी–व्यवसायी

भारतबाट ढुवानी लिएर नेपाल प्रवेश गर्ने सवारीसाधनलाई भन्सार कार्यालय परिसरमा नै भारमिलान गर्ने निर्देशन कार्यान्वयन गर्न सहज नरहेको उद्योग व्यवसायीहरुको भनाइ छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले गरेको निर्णय एकतर्फी र अव्यवहारिक भएका बताउनुभयो ।

नेपाल भन्सार एजेण्ट महासंघका पूर्व सचिव तथा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले के अब भन्सारमा राजस्व फारम भर्न पनि ढुवानी व्यवसायीलाई सोध्नपर्ने हो ? भन्दै प्रमुख जिल्ला अधिकारीलाई प्रतिप्रश्न गर्नुभयो । 

भैरहवा भन्सार एजेन्ट संघ, रुपन्देहीका अध्यक्ष मधुप्रसाद पन्थीले प्रमुख जिल्ला अधिकारीको निर्देशन अव्यवहारिक भएको बताउनुभयो ।