२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै धर्ना

बिहिवार , बैशाख २५, २०८२

  • 805
    Shares
  • 805
    Shares
  • भैरहवा, २५ वैशाख । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका संघ–संस्थाहरुले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् । उनीहरुले विमानस्थल नियमित र पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने माग राख्दै धर्ना दिएका हुन् ।

    चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) को अगुवाइमा बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म (एक घण्टा) विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना तथा विरोध सभा कार्यक्रम गरिएको हो । धर्नामा सहभागीले विमानस्थल नियमित सञ्चालनको माग लेखिएका प्लेकार्ड बोकेका थिए ।

    सहभागीहरुले अरबौं लगानीमा निर्माण भएको विमानस्थल सञ्चालन हुन नसक्नु सरकारको कमजोरी भएको बताए । उनीहरुले विमानस्थल सञ्चालन नगर्ने भए किन निर्माण गरिएको भन्दै प्रश्न गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारको लगानीमा निर्माण भए पनि यसमा निजी क्षेत्रको अझ बढी लगानी रहेको र विमानस्थल सञ्चालनमा नआउदा त्यो लगानी डुब्ने जोखिम बढेको व्यवसायीहरुको भनाइ छ ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल सञ्चालनका लागि मुलुकका सबै राजनीतिक दलका प्रमुख, पूर्व र वर्तमान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको  बताए । उनले सरकारले अझै नियमित उडानको वातावरण नबनाए थप आन्दोलन गर्ने चेतावनी दिए ।

    त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले सरकारले पटकपटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छ्याप्ने काम गरिरहेको बताए । 

    चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताए । उनले निजी क्षेत्रले लगातार विमानस्थल नियमित सञ्चालनको माग गरे पनि सरकारले नसुनेको बताए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कूल प्रसाद न्यौपाने, सिद्धार्थ संजाल, रुपन्देही अध्यक्ष अनिल कुमार ज्ञवाली, उद्योग व्यापार संगठनका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी, संगठनकी महासचिव लक्ष्मी अधिकारी, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), मोबाइल व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष बैजनाथ गुप्ता, आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष मिनिता थापा क्षेत्री, नागरिक अगुवा आनन्द प्रसाद गुप्ता, जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष अर्जुन कुँवरलगायतले बोल्दै विमानस्थल सञ्चालनमा सरकारले ध्यान नदिएका कारण अरबौं लगानी जोखिममा परेको बताए । 

    WhatsApp Image 2025-05-08 at 8.40.58 AM.jpeg
    WhatsApp Image 2025-05-08 at 8.40.59 AM.jpeg