२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अब माछाका पनि २० बढी परिकार पाइन्छ खान

आइतवार , बैशाख २१, २०८२

  • 919
    Shares
  • 919
    Shares
  • भैरहवा, २१ वैशाख । तपाईले माछाबाट बनेका कतिप्रकारका परिकार खानुभएको छ । धेरैले फ्राई माछा र माछाको झोल बनाएर खानु भएको होला । तर, माछाको पनि खसी, बोका र कुखुराको जस्तै पन्ध्र÷बीसवटा परिकार बन्ने गर्दछ । 

    माछाको हबको रुपमा विकास भएको छपिया क्षेत्रसहित रुपन्देहीका होटल व्यवसाय र उद्यमीहरुलाई माछाका परिकार बनाउन सिकाइएको छ । माछाको उत्पादन पछाडि बजारीकरण, बजार विविधिकरण, मुल्य श्रृखला अभिवृद्धि र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायी र उद्यमीलाई तालिम प्रदान गरिएको हो । 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ भैरहवा, रुपन्देहीले माछाको प्रि–हार्वेष्ट तथा पोष्ट हार्वेष्ट व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा १४ जना होटल व्यवसायी र ३ जना उद्यमीलाई प्रशिक्षण दिइएको छ ।  

    रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ केवलपुरकी राजकुमारी चौधरीले ३ दिनको तालिमले व्यवसाय प्रवद्र्धनका लागि ठुलो सहयोग गरेको बताइन् । ‘घरमा माछा पाल्ने पोखरी छ, त्यहाँ पालिएका माछाका परिकार आफ्नै रेष्टुरेण्टबाट विक्री गर्दै आएकी थिए, चौधरीले भनिन्–तर, अहिलेसम्म माछाको फ्राई र झोल माछबाहेक अन्य परिकारबारे कुनै जानकारी थिएन ।’ उनले माछाको पनि १५÷२० वटा परिकार बनाएर व्यापार प्रवद्र्धन गर्न सकिन्छ भन्ने जानकारी नभएको बताइन् ।  

    त्यस्तै तिलोत्तमामा रहेको सखिया थारु सामुदायिक होमस्टेका अध्यक्ष हरिनारायण थारुले पनि होमस्टेमा आउने पाहुनाहरुलाई माछाको २ वटा मात्र परिकार खुवाउने गरेको बताए । उनले माछाका पनि १८ वटा परिकार बनाउन सक्ने बताए । उनले आफ्नो होमस्टेका मेनुमा माछाका परिकार थप गर्ने बताए । माछाका पारखीहरुका लागि बिभिन्न परिकार बनाएर पस्किने उनको भनाइ छ । 

    2.jpeg

    छपियाको माछा नेपालमै प्रसिद्ध छ । पंगास, टिलापिया, रहु, कमन कार्प, बिगहेड लगायतका विभिन्न जातका माछा उत्पादनको लागि प्रसिद्ध छपिया अब यसको स्वादको बारेमा पनि चर्चा कमाउने छ । पराम्परागत रुपमा माछा तारेर र झोल बनाएर विक्री गर्ने होटल व्यवसायीदेखि उद्यमीहरुले अब यसको विभिन्न १८ वटा परिकार तयार गर्न जान्ने भएका छन् । 

    तालिममा सहभागीहरुले झोलिलो माछा, तारेको माछासहित पोलेको माछा, माछाको सुकुटी, सेकुवा, मःमः, फिस चिप्स, फिस करी, अचार, कटलेट, ललिपप, सेण्डविच, फिस फिङ्गर, फिस बल, फिस सुप, फिस चिल्ली लगायतका विविध परिकारहरू बनाएर विक्रीवितरण गर्न सक्नेछन् । 

    कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास र माछाको व्यवसायीकरण र बजारीकरणमा टेवा पुर्याउनका लागि तालिम दिइएको परियोजनाका मत्स्य विकास अधिकृत शोभाखर पाण्डेले जानकारी दिए । 

    माछाका परिकार बनाउन ख्याति कमाएका प्रशिक्षक खुम बहादुर बस्नेतले परम्परागत नेपाली शैलीदेखि लिएर अन्तर्राष्ट्रियस्तरसम्मका माछाका परिकारहरू बनाउन सिकाएका थिए । 

    रुपन्देहीमा अहिले माछा सुपरजोन सञ्चालनमा रहेको छ । माछा सुपर जोन अन्र्तगत रुपन्देहीको सियारी गाउँपालिका, शुद्धोधन, गैडहवा, मायादेवी गाउँपालिकासहित बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४४ वटा वडाको १ हजार १ सय १२ हेक्टर क्षेत्रफलमा माछा सुपर जोन कार्यक्रम लागू छ ।

    कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचसहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सञ्चालन हुने गरी सुरु भएको थियो । १० वर्ष परियोजना २०७३ साउनबाट सुरु भइ २०८२ को असारमा सकिदैछ ।