२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

उद्योगी–व्यवसायी भन्छन् : २०८२ मा निजी क्षेत्रको मनोबल बढोस्

सोमवार , बैशाख १, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १ वैशाख । उद्योगी–व्यवसायीले नयाँ वर्ष २०८२ सालमा निजी क्षेत्रको मनोबल बढोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । उनीहरुले २०८१ सालमा निजी क्षेत्र निराश अवस्थामा रहेको बताएका हुन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा उनीहरुले अब अधुरा काम पूरा हुने विश्वास व्यक्त गरे।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले संस्था संस्थागत लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । ‘योजनाबद्ध रुपमा अघि बढ्नुपर्छ, मुलुकको अर्थतन्त्र चलायमान हुनैपर्छ, ’उनले भने । 

    त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि संघले पटकपटक आवाज उठाउँदै आएको बताए । ‘अहिलेको मुख्य एजेण्डा विमानस्थल सञ्चालन हो, संघ सुझबुझका साथ अगाडि बढ्छ । अब राजनीतिक दल र संघ–संस्थाहरुसँग छलफल गर्छौं, ’उनले भने ।

    संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले २०८१ मा भएका राम्रा कुरा स्मरण गर्दै नराम्रा कुरा मन र मस्तिष्कबाट हटाउनुपर्ने बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग हाम्रो भविष्य जोडिएको छ, विमानस्थल पूर्ण क्षमतामा चलोस् । आयात भन्दा निर्यात बढोस् भन्ने कामना गर्दछु, ’उनले भने ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले सिद्धार्थ उद्योग वाणिज्य संघको गरिमा र महत्व धेरै रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले २०८२ सालमा व्यवसायीको पीडा अन्त्य हुने विश्वास व्यक्त गरे । उनले लक्ष्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    संघका पूर्वअध्यक्ष राम कुमार शर्माले सिद्धार्थ उद्योग वाणिज्य संघ निजी क्षेत्रको आशाको केन्द्र भएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा आफूहरु निराश भएको बताए । संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेले स्थगित भएको अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुनुपर्ने बताए । 

    संघका सल्लाहकार नवराज न्यौपानेले २०८२ मा देश नै स्वस्थ होस् भन्ने कामना गरे । सल्लाहकार विजय पाण्डेले २०८२ सबै नेपालीका लागि सुखमय हुने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र सन्तुलित रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले क्लब निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढेको बताए ।

    महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, कार्यसमिति सदस्य रमेश घिमिरे, भित्तेपात्रो प्रकाशन समिति संयोजक एवं कार्यसमिति सदस्य प्रमोद रिजाल, परामर्शदाता रुपमा हिराचन लगायतले वर्ष २०८२ सबै नेपालीका लागि अघिल्ला वर्ष भन्दा राम्रो होस् भन्दै शुभकामना दिएका थिए ।

    IMG_2654.JPG