
सोमवार , चैत्र ९, २०७७
बुटवल, ९ चैत ।
रुपन्देहीको पुरानो सहकारी धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनाल, सचिव मिना ढकाल, सदस्य विष्णु भुसाल तथा हालै सम्पन्न पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का संचालकद्वय नारायण घिमिरे, कृष्ण पाण्डे, मानव अधिकार संजालका अध्यक्ष यम थापा, दुग्ध सहकारी संचालक सदस्य हरि काफ्ले लगायतलाई सम्मान गरेको संस्थाका उपाध्यक्ष नारायण अधिकारीले बताए ।
सो अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक रामकृष्ण खांणले सहकारीले नेतृत्व र व्यक्तित्व विकासमा पनि अहम भूमिका खेलेको बताउँदै सहकारीहरुलाई अझ व्यवस्थित बनाउनुपर्ने बताए । सहकारीले दिने सेवा र सुविधा गुणस्तरीय हुनुपर्ने बताउँदै सहकारीमा सबैको पहँच पुग्नुपर्ने समेत सो अवसरमा जानकारी दिए ।
सम्मान तथा बधाई कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले सहकारीले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै महिलाहरुको आर्थिक उपार्जन, सामाजिक क्षेत्र, कृषि तथा व्यवसायिक क्षेत्रहरुमा सहयात्रीकै रुपमा सहकारीले सघाउ पुर्याएको बताए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता युवराज गिरी, सहकारीका निवर्तमान अध्यक्ष हरि पन्त, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य हरिबहादुर आचार्य, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का संचालक नारायण घिमिरे, धौलागिरी सहकारी सैनामैना शाखाका अध्यक्ष गुरुप्रसाद पराजुली लगायत बोल्दै सहकारीले खेलेको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रमको स्वागत राजेन्द्र प्रसाद न्यौपाने र संचालन सचिव देव खनालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij