२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

नेपाल र भारतका महानिर्देशक तहमा वार्ता : वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय

बिहिवार , चैत्र २७, २०८१

  • 880
    Shares
  • 880
    Shares
  • काठमाडौं, २८ चैत । नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौंमा वार्ता सुरु भएको छ । 

    वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्ने, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताए । 

    छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकीकृत जाँच विन्दु (ईन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमाभित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ । 

    चैत २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ता टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् । भारतकोतर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवले गरेका छन् ।

    नेपालकोतर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाईन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागीता छ । 

    त्यसै गरी भारतीय टोलीमा राजस्व ईन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय ईकाईका सहायक महानिर्देशक, नेपालस्थित भारतीय दुतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरु लगायतका अधिकारीहरुको सहभागीता छ ।