२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

इन्द्रेणीद्वारा सहकारी दिवसमा रक्तदान

मंगलवार , चैत्र ११, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • बुटवल, १२ चैत । बुटवलको सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६८ औं सहकारी दिवस तथा आफ्नो ३० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । 

    इन्द्रेणीले यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रमसँगै आइतबार रक्तदान कार्यक्रम गरेको हो । रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा झण्डै ५० जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।

    सहकारीका कार्यबाहक अध्यक्ष माया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका पूर्वअध्यक्ष शिवलाल रानाले कार्यक्रमको उद्घाटन गर्दै रगतको महत्व सबैले बुझ्नुपर्ने बताए । उनले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको उल्लेख गर्दै सोही अन्तरगत रक्तदान गरेको बताए । उनले सहकारीमा बचतसँगै सामाजिक क्रियाकलाप र उत्पादनमूलक गतिविधि अहिलेको आवश्यकता भएको बताए । 

    सहकारीका सचिव नरबहादुर रजालीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, इन्द्रेणीका कोषाध्यक्ष कृष्ण अर्याल, लेखा संयोजक लुन्जलाल शाक्य, रक्त संचार सेवा केन्द्र बुटवलका राधा ज्ञवाली, सहकारीका सदस्य गोविन्द ज्ञवाली, शान्तिलाल बज्राचार्य लगायतले रक्तदान गर्नुको महत्वका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । 

    इन्द्रेणीले आफ्नो स्थापना दिवस र सहकारी दिवसका अवसरमा रक्तदान कार्यक्रम, अनाथ असहायलाई सहयोग, दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, सहकारी शिक्षा तालिम कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै आएको सहकारीका व्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।