२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

ढुवानी व्यवसायीद्वारा यातायात व्यवसायीलाई सम्मान 

शुक्रवार , चैत्र ६, २०७७

बुटवल, ६ चैत । 
ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिम नेपाल बस व्यवसायी  प्रा.लि.को हालै सम्पन्न अधिवेशनबाट निर्वाचित सञ्चालक समितिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । 

सम्मान कार्यक्रममा बोल्दै ढुवानी तथा यातायात क्षेत्रका अगुवाहरुले राज्यले ढुवानी तथा यातायात क्षेत्रलाई ध्वस्त बनाएको भन्दै त्यसमा सुधार गर्न नसकिए यातायात क्षेत्र धरासायी हुने चेतावनी दिएका छन् । उनीहरुले ढुवानी तथा यातायात क्षेत्र एक अर्काका परिपुरक संस्था भएको हुदा यसमा आउने कुनै पनि प्रकारका समस्याको समाधानका लागि सहकार्य गरेर जानुपर्नेमा जोड दिए । 
कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का नवनिर्वाचित अध्यक्ष दधिराम खरेलले राज्य यातायात क्षेत्रमा गलत दिशामा अगाडी बढेको घटनाक्रमले पुष्टि गरेको र अब यातायात क्षेत्र यस्तै अवस्थामा नरहने दावी गर्दै वर्तमान सरकारले सर्वहारावर्गको घाँटी रेट्ने काम गरेको बताए । ढुवानी व्यवसायीले आफुहरुलाई सम्मान गरेर उदाहरणीय र उच्च सहयोगीको भावना देखाएकोप्रति आभार व्यक्त गर्दै अध्यक्ष खरेलले आगाडीका दिनमा दुबै संस्था सहयोगी संस्थाका रुपमा रहने प्रतिवद्धता व्यक्त गरे । उनले ढुवानी व्यवसायीले व्यवसायीहरुबीचको सम्बन्ध बढाउन सम्मान कार्यक्रम राखेर उदाहरणिय काम गरेको भन्दै प्रशंशा गरे । 

कार्यक्रममा नेपाल ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पाखेरलले राज्यका नीति र व्यवहारले व्यवसाय चलाउन निकै कठिन भएको भन्दै त्यसलाई हटाउन यातायात तथा ढुवानी व्यवसायी आन्दोलनमा उत्रनुपर्ने धारणा राखे । 

ढुवानी व्यवसायी समिति, रुपन्देहीका निवर्तमान अध्यक्ष कमल घिमिरेले व्यवसायलाई मजबुत र मर्यादित बनाउन व्यवसायिक एकता जरुरी हुने बताउदै व्यवसायिक संघ–संस्थाबीचको सहकार्य आजको आवश्यकता रहेकोमा जोड दिए । 

समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा बस प्रा.लि.का नवनिर्वाचित सञ्चाालकरुलाई खादा तथा टिका लगाएर सम्मान गरिएको थियो ।