
बिहिवार , चैत्र ५, २०७७
बुटवल, ५ चैत ।
नेपालमै सबैभन्दा धेरै यातायात व्यवसायीहरु संगठित रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा नवनिर्वाचित सञ्चालकहरुको पदस्थापन भएको छ । विगतमा बस समितिबाट संघ हुँदै हाल प्रा.लि.मा रुपान्तरित भएको यातायात क्षेत्रको सबैभन्दा ठुलो संस्था पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट निर्वाचित ११ संचालकहरुको पदस्थापन भएको हो ।
पदस्थापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । समस्या समाधानका लागि अग्रसरता र समन्वयकारी भुमिका यातायात व्यवसायीहरुबाटै हुनुपर्ने कुरामा जोड दिंदै मन्त्री चौधरीले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीहरुको प्रतिबद्धता आवश्यक रहेको बताए ।
सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष दधिराम खरेल, महासंघका पूर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, प्रदेश अध्यक्ष डिलबहादुर ढुंगाना, केन्द्रिय उपाध्यक्ष पुष्पा श्रेष्ठ, संघका पुर्व अध्यक्ष तुलसीराम बन्जाडे, भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्रमुख निर्वाचन आयुक्त मदन कट्टेल लगायतले यातायात व्यवसायीहरुका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए ।
संचालकहरुको पदस्थापन लगत्तै बसेको प्रा.लि.का सञ्चालकहरुको पहिलो बैठकले संचालक दधिराम खरेललाई अध्यक्षमा र रामचन्द्र भुसाललाई प्रबन्ध संचालकमा चयन गरेको छ । साथै लेखा संयोजकमा मोहन पिएसलाई चयन गरिएको संचालक चेत नारायण बेलबासेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij