
मंगलवार , फाल्गुण १३, २०८१
भैरहवा, १३ फागुन । मानव अधिकार र व्यवसाय एक–अर्काका पूरक भएकाले दुवैको संरक्षण र प्रवर्द्धन आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको व्यवस्थापन तथा युएनडीपीको सहयोगमा रुपन्देहीको भैरहवामा भएको मानव अधिकार र व्यवसायमा पालना गर्नुपर्ने दायित्वहरु विषयक कार्यशालामा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले श्रमिकसँगै उद्योगी–व्यवसायीको मानव अधिकार संरक्षण र सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठानको मानव अधिकार हनन् भइरहेकाले अधिकार सुनिश्चित गर्नुपर्ने बताए । ‘कसैको अधिकार कुण्ठित हुनुहुँदैन‘उनले भने–‘मानव अधिकार हनन् गर्नु हुँदैन ।’
त्यस्तै कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै नेपाल उद्योग वाणिज्य महासंघका विज्ञ हसंराम पाण्डेले मानव अधिकार र व्यवसायबीच घनिष्ट सम्बन्ध रहेको बताए । उनले मानव अधिकार र व्यवसाय कुनै न कुनै रुपमा सम्बन्धित रहेको बताए ।
‘उद्योगी–व्यवसायीले श्रमिकको अधिकार, वातावरणको संरक्षण र समुदायसँग साझेदारी गर्दै अघि बढ्नुपर्छ पाण्डेले भने मानव अधिकारको सम्मान गर्नुपर्छ’उनले भने–‘अधिकारको उल्लंघन नहुने गरी अगाडि बढ्नुपर्छ ।’ उनले व्यवसायीको सामाजिक जिम्मेवारीसँगै आफ्ना श्रमिकप्रति जिम्मेवारी हुने बताए ।
महासंघकी सहायक निर्देशक सीता घिमिरेले व्यवसायको स्थायीत्व, सुदृढ संस्था, दीर्घकालीन विकास र सार्वजनिक विश्वासका लागि व्यवसायमा मानव अधिकार आवश्यक रहेको बताइन् । उनले उद्योग व्यवसाय नाफा कमाउन मात्रै नभइ समुदाय र समाज विकासको सहयोगी बन्नुपर्ने बताइन् । ‘व्यवसायभित्र हुन सक्ने मानव अधिकारको जोखिमको पहिचान गर्नुपर्छ, ’उनले भनिन् ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले भने, ‘हामी नेपाली हौं, त्यो कुरा बुझेर आफ्नो दायित्व निर्वाह गरौं ।’ उनले नेपालमा हुनेखाने मात्र नभइ हुँदाखाने व्यक्तिहरुको संख्या पनि बढी रहेको बताए । ‘कुनै पनि नियम, कानून लागू गर्दा थोरै समस्या आउँछ, तर समाधानका लागि हामीभित्र नियत ठीक हुनुपर्छ’उनले भने–‘कुनै नेपालीले कसैको अधिकार हनन् होस् भन्ने चाहदैन ।’
प्रदेश सभा सदस्य पाण्डेयले अधिकारको कुरा मात्र नभइ दायित्व पूरा गर्नुपर्ने बताए । ‘शिक्षकले एक दिन कुनै विद्यार्थीलाई पढ्नुपर्छ भनेर गाली गर्दा विद्यार्थी अधिकारको कुरा आउँछ’ उनले भने–‘तर, विद्यार्थीले पनि आफ्नो दायित्व पूरा गर्न जरुरी छ ।’
उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा उद्योगी, व्यवसायी र श्रमिकका लागि प्रशिक्षण कार्यक्रम समेट्ने बताए । ‘आफ्नो अधिकार, दायित्वबारे जानकारी हुनुपर्छ, उनले भने धेरै कुराको जानकारी नभएर पनि कुरा बिग्रन्छ’उनले भने–जुन देशमा नेता र कर्मचारीले आफूलाई आर्थिक सम्पन्नतातर्फ लैजान चाहन्छन् त्यो देश कहिल्यै अगाडि बढ्न सक्दैन, त्यहाँ मानव अधिकारको संरक्षण पनि हुन सक्दैन । ’उनले हरेक क्षेत्रले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक आनन्द खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी सदस्य महेन्द्र कुमार श्रेष्ठ, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, महासचिव कृष्ण प्रसाद घिमिरे, सचिव मंगल भण्डारी, कार्यसमिति सदस्य यमकला न्यौपाने, पूर्व कार्यसमिति सदस्य गोपाल भण्डारी, नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता लगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij