२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

शुक्रवार , फाल्गुण ९, २०८१

अर्घाखाँची, ९ फागुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गरिएको छ ।

पूर्व विद्यार्थीकोतर्फबाट मुख्यमन्त्री आचार्यले बुवा–आमाको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको टिकाराम–तारादेवी अक्षयकोष स्थापना गरेका छन् । यो अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कृत गरिनेछ । त्यस्तै मुख्यमन्त्री आचार्यले मेरो विद्यालय मेरो दायित्व अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानको शुभारम्भ गरेका छन् ।

‘सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी छ । यो अभियानमा पूर्व विद्यार्थीहरुको अतुलनीय र रचनात्मक योगदानको खाँचो छ’मुख्यमन्त्री आचार्यले भने–‘सामूदायिक विद्यालयलाई नमूना बनाउनको लागि यो अभियान कोशेढुंगा सावित हुनेछ ।’ सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन मेरो विद्यालय मेरो दायित्व अभियानले सहयोग पुर्याउने उनले बताए ।’ सामूदायिक विद्यालय धेरै व्यक्तित्व जन्माएको छ । धेरै छलफल गरेर पढेको विद्यालयप्रतिको दायित्व के हुन् भनेर चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर राख्यौं । अब नियमित रुपमा अभियान चल्छ । प्रदेश सरकारले अभियान अगाडि बढाउने छ‘उनले भने–‘स्वदेश तथा विदेशमा रहनुभएका पूर्व विद्यार्थीले शैक्षिक र भौतिक सुधारको लागि आजको दिनले ढोका खोलेको छ । जिम्मेवारीको बोध गराउन अभियान थालिएको हो । पैसा नहुन सक्छ तर, सीप, ज्ञान र अनुभवलाई साटासाट गर्न सकिन्छ ।’ यो विद्यालयमा मुख्यमन्त्री आचार्यले आधारभूत तहको शिक्षा आर्जन गरेका थिए ।

प्रदेश भित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियानको सुभारम्भ गरिएको हो । ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामूदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । सार्वजनिक विद्यालयको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामूदायिक विद्यालयप्रतिको जवाफदेहीता वृद्धि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो । 

यो अभियानमा सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ । 

477718908_942678077997816_3679189828828278778_n.jpg

प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन् । जसमध्ये ४ हजार ५ सय ३१ वटा सामूदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार २ सय ९८ विद्यार्थीमध्ये ९ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामूदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो । 

२०८० को एसईई परीक्षामा सहभागी ८० हजार २ सय २७ विद्यार्थीमध्ये ३१ हजार १ सय ३ जना मात्र ग्रेडेड हुन सफल भएका थिए । जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ । सामूदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । प्रदेशमा ४ हजार ५ सय ३१ सामुदायिक विद्यालयमध्ये २ हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ । यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिइ सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको पाइएको छ ।

अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ । यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ । विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यवसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिनेछन् । 

विद्यालयलाई खेलकूद तथा अतिरिक्त क्रियाकलापका लागि सहयोग पुर्याइनेछ । सामाजिक विभेद, बालविवाह, घरेलु हिंसा, किशोरावस्थामा हुने चुनौतीहरू तथा लागूपदार्थ दुव्र्यसनजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । विपत् व्यवस्थापनका पूर्वतयारी गतिविधि तथा स्वास्थ्य, पोषण, खोप र जीवनोपयोगी सीपबारे जानकारी प्रदान गरिनेछ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सामाजिक विकास मन्त्रालयका वरिष्ठ उपसचिव शारदा बस्याल, पूर्वप्रधानाध्यापक सालिकराम भुसाल, पूर्व विद्यार्थी कृष्णप्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाका पूर्व उपप्रमुख ठाकुर प्रसाद विक लगायतले सामूदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।