२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

साना किसान कृषि सहकारीको २१ औं साधारण सभा सम्पन्न

बिहिवार , माघ ३, २०८१

मर्चवार, ३ माघ । रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ शिवपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले बैंकसम्म पहुँच नभएका किसानहरूले सहकारीबाट सहज ढंगले सेवा पाएको बताए । उनले साना किसान कृषि सहकारी संस्थामा शेयर सदस्यहरुको संख्या बढेको भन्दै प्रशंसा गरे । उनले केही सहकारी संस्थाको गलत कामका कारण सहकारी क्षेत्र बदनाम भएको तर, सबै सहकारीलाई गलत भन्न नहुने बताए ।

सहकारीका अध्यक्ष तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आ.व. २०८०/०८१ म ४० करोड १६ लाख ९१ हजार ३ सय ६३ रूपैयाँ बराबरको आयव्यय प्रस्तुत गरे । अध्यक्ष यादवका अनुसार सहकारीमा ६ सय ४२ समूह अन्तर्गत ३ हजार ७ सय ७१ जना शेयर सदस्यहरु छन् । उनले किसानहरूको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै साना किसान विकास लघुवित्त बैंक लि. बुटवल शाखा प्रबन्धक शेर बहादुर चौधरीले यो सहकारीको थोरै समयमा पूँजी बढ्नु राम्रो भएको बताए ।

कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र पाण्डेय, ५ का अध्यक्ष तेज नारायण पाल लगायतले भनाइ राखेका थिए । राम प्रसाद यादवको स्वागत तथा व्यवस्थापक अभय तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

473158587_3999371740385406_6514710803813440276_n.jpg