images
images

मंगलवार, जेठ ८ गते २०८१

तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोनाविरुद्धको खोप

तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोनाविरुद्धको खोप

images
images
images
बिहिवार, फाल्गुण २७ २०७७
बिहिवार, फाल्गुण २७ २०७७
  • तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोनाविरुद्धको खोप

    तिलोत्तमा, २७ फागुन । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान यही चैत १ गतेबाट सुरु हुँदैछ । नगरका सबै वडामैं खोप केन्द्र कायम गरी कोरोनाविरुद्धको खोप अभियान चलाउने तयारी भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ । 

    तिलोत्तमा नगरपालिकाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरबासीको सहजताको लागि हरेक वडामा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

    फागुन २३ गतेदेखि मुलुकभर सञ्चालन भएको दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत तिलोत्तमामा चैत १ गतेदेखि सुरु हुने खोप अभियान चैत ३ गतेसम्म चल्नेछ । अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका नगरभित्रका झण्डै दश हजार ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाउने नगरपालिकाको अनुमान छ । 

    नगरप्रमुख बासुदेव घिमिरेले उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी  खोप लगाउन सबै नगरवासीलाई अनुरोध गरेका छन् । विश्व स्वास्थ्य संगठन समेतले प्रयोग अनुमति दिएको खोप लगाईं कोभिड–१९ बाट सुरक्षित रहन उनले सबै नगरबासीलाई आह्वान गरे । निःशुल्क पाइने खोप सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

    स्वास्थ्य शाखाले जनप्रतिनिधिहरुको साथैं स्वास्थ्य संस्था ईञ्चार्जहरुसँग खोप अभियानको तयारी र स्थानीयस्तरमा गर्नुपर्ने कार्यसम्पादनको बारेमा छलफल गरिसकेको शाखा प्रमुख मोती पौडेलले जानकारी दिए । त्यसक्रममा नगरप्रमुख घिमिरेले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिँदै जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्न आग्रह गरे । अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लाग्ने बताउँदै उनले कोरोना महामारीको समयमा जनप्रतिनिधिसंगै स्वास्थ्यकर्मी र जनस्तरबाट भएको समन्वय र सहकार्यको  स्मरण गरे ।

    नगरका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी रहेको बताइन्छ । 

    कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुन सक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij