शनिवार , मंसिर १५, २०८१
भैरहवा, १५ मंसिर । नेपालका विभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाको प्रोमो कोड प्रयोग गरेर यति एयरलाइन्सको विमानमा हवाई यात्रा गर्दा छुट पाइने भएको छ । होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट हरेक नेपालीले हवाई भाडामा ३ सय रुपैयाँ छुट पाउने भएका हुन् ।
यति एयरलाइन्समा हवाई यात्राका लागि टिकट खरिद गर्दा पौवाको YTPAUWA300 कोड समाविष्ट गरेर टिकट काट्दा साविक भाडामा ३ सय रुपैयाँ छुट प्राप्त हुने होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनका अनुसार यति एयरलाइन्सको वेबसाईटबाट सिधै टिकट काट्दा आउने प्रोमो कोडको स्थानमा पौवाको कोड प्रयोग गर्दा साविक भाडामा ३ सय रुपैयाँ छुट हुनेछ । नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको पौवा ग्रुपलाई यतीले प्रदान गरेको प्रोमो कोडका लागि ब्राण्ड प्रमुख भण्डारीले धन्यवाद दिए ।
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा विस्तारलाई समेत तीव्रता दिदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच विस्तार गरेको छ ।
हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा छन् । त्यसै गरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा विस्तार गरी शिघ्र सञ्चालनको तयारीमा छ ।
‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं,’ ब्राण्डिङ प्रमुख भण्डारीले भने, ‘नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij