२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल

शनिवार , मंसिर १, २०८१

काठमाडौं, १ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन्। राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका लागि कर प्रशासनलाई निर्देशन दिए । कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागीता लागत घटाउन र प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको उनको भनाइ छ । 

अर्थमन्त्री पौडेलले करको दायरा विस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागीता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताए । उनले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि थप सुधारका पहलकदमी लिन निर्देशन दिए । त्यसै गरी सूचना प्रविधिको प्रयोगमा विस्तार एवं सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन उनले निर्देशन दिए ।

संघीयताले आर्थिक केन्द्रहरु विस्तार, खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु विस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गए पनि सो अनुपातमा जसरी राजस्व संकलन बढ्नुपर्ने हो सो अनुरुप बढ्न सकेको आफूले नपाएको बताउँदै अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन निर्देशन दिए । 

जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन नसकेको उल्लेख गर्दै उनले बक्यौता असुली, बेरुजु फर्छ्यौट, आन्तरिक तथा प्रशासकीय पुनरावलोकनको प्रगति लागतमा लक्ष्य अनुरुप नभएकाले कार्यसम्पादन स्तरमा थप सुधार ल्याउन उनले निर्देशन दिए । 

स्रोत व्यवस्थापनको हिसाबले अहिले असामान्य अवस्थामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस्तो अवस्थामा सामान्य हिसाबले कार्यसम्पादन गरेर लक्ष्य भेट्न सक्ने अवस्था नरहेको बताए । उनले राजस्व लक्ष्य हासिल गर्न, कार्यसम्पादन सूचक अनुरुपको प्रगति हासिल गरी विभागीय जिम्मेवारी पूरा गर्न सामान लक्ष्य लिएर कार्यसम्पादनमा लाग्न जरुरी रहेको धारणा व्यक्त गरे । 

‘सरकारप्रति नागरिकको अपेक्षा बढ्दो छ । सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका खर्चहरुले स्रोतमाथिको दबाब बढेको छ । विश्व अर्थतन्त्र पनि पछिल्लो समय दबाबमै रहेको हुँदा बाह्य सहायता परिचालनमा उल्लेख्य सुधार हुन सकेको छैन । सार्वजनिक ऋण सेवा खर्च बढ्दो छ, अर्थमन्त्रीले पौडेलले भने–यस्तो अवस्थामा आन्तरिक स्रोत परिचालन प्रभावकारी बनाउनु हाम्रा लागि अनिवार्य रहेकोतर्फ विशेष ध्यानाकर्षण गरी जिम्मेवार ढंगले कार्यसम्पादनमा लाग्न आग्रह गर्न चाहन्छु ।’ उनले निजी क्षेत्रलाई कर सहभागीता बढाई विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने सरकारको अभियानमा अपेक्षित भूमिका निर्वाह गर्न आग्रह गरे ।

‘पहिलो कर अधिकृत करदाता स्वयं आफै हो । तसर्थ कानून बमोजिम लाग्ने कर आफै गणना गरी दाखिला गर्ने स्वयंकर निर्धारण प्रणालीको प्रभावकारिता बढाउन योगदान गर्नुस्, उनले भने–यसले कर प्रशासनको मात्र होइन करदाता स्वयंको समेत लागतमा कमी आउँछ । आर्थिक र व्यवसायिक गतिविधिमा पारदर्शिता ल्याई प्रतिष्पर्धालाई समेत प्रवर्धन गर्दछ ।’  
उत्साहजनक र स्वेच्छिक रुपमा कर सहभागीता बढाउन करदाता र कर प्रशासन दुवै उत्तिकै जिम्मेवार हिसाबले लाग्न जरुरी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कर दिवसको अवसरमा पुरस्कृत तथा सम्मानित हुने करदाता र कर्मचारीहरुलाई बधाई दिएका थिए ।