२०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

वर्तमान सरकारले चार महिनामा ठीक ढंगले काम गरेको छ : एमाले

शनिवार , कार्तिक २४, २०८१

  • 829
    Shares
  • 829
    Shares
  • काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) ले वर्तमान सरकारले चार महिनामा ठीक ढंगले काम गरेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गर्दै सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    बैठकले दुई राजनीतिक दलबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन र कामलाई अझै समन्वय र प्रभावकारी बनाउन संयन्त्र समेत बनेको अवस्थामा दुई दलबीचको विश्वासको वातावरण सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएको उनले बताए ।

    त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि छलफल भएको ज्ञवालीले जानकारी दिए । एमाले सचिवालयले बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस भइ आएका उमेदवारहरुको नाम अनुमोदन समेत गरेको छ ।

    एमाले पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन बैठकले आह्वान गरेको ज्ञवालीले बताए ।

    बैठकले जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सघाउने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए ।

    एमाले कोशी प्रदेशले शनिबार नै मानव तस्करीको आरोप लागेका अधिकारीमाथि छानबिन गर्न माग गर्दै अनुसन्धान गरी सत्यतथ्य पत्ता नलाग्दासम्म पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्वन गरेको थियो ।