
बिहिवार , कार्तिक १५, २०८१
रुपन्देही, १५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई देशप्रति जिम्मेवार बनाउन आफ्नो प्रधानमन्त्री आफै चुन्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएका छन् । रुपन्देहीको देवदहस्थित शंकरपुरमा बुधवार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।
उनले राष्ट्रको सम्मान इतिहास र परम्पराको दृष्टिकोणले राष्ट्रपति भन्दा राजा उपयुक्त हुने विगतको अनुभवले प्रमाणित गरिसकेको दावी गरे । । पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले केही राजनीतिक दलका गलत क्रियाकलाप र भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको बताए ।
उनले एमाले, कांग्रेस र माओवादीले मुलुकमा भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देशलाई खोक्रो बनाएको भन्दै अब जनता जागरुक हुन आवश्यक रहेको बताए । अध्यक्ष लिङ्देनले राजतन्त्रलाई अभिभावकीय भूमिकामा राखी प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था नगराउँदासम्म मुलुकमा समृद्धि नआउने बताए ।
मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा राप्रपा लागेको र आम नागरिकलाई समेत यो अभियानमा जोडिन उनले आग्रह गरे ।
कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ताहिर अलिले देशमा किसानका समस्या विद्यमान रहेको र किसानका लागि आवश्यक पर्ने मलखाद कारखाना समेत नहुदा भारतसँग निर्भर हुनुपरेको बताए । उनले किसानले दुःख पाएको भन्दै राप्रपाले किसानका मुद्दा बोकेर देशव्यापी कार्यक्रमको आयोजना गरेको बताए ।
राप्रपा देवदह नगर अध्यक्ष माधव रिमालको अध्यक्षता, राप्रपाबाट निर्वाचित देवदह–१२ का वडाअध्यक्ष दुधनाथ यादवको स्वागत र पार्टीका नगर सदस्य राजु चौधरीको सञ्चालनमा भएको सभामा पार्टीका केन्द्रिय सदस्यद्वय स्वाती थापा, तोयानाथ लम्साललगायतले सम्बोधन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij