२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

विपक्षीले चाहँदैमा सरकार ढल्दैन : छविलाल विश्वकर्मा

शनिवार , कार्तिक १०, २०८१

  • 937
    Shares
  • 937
    Shares
  • तिलोत्तमा, १० कार्तिक ।नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले काँग्रेस–एमाले साझा सहमतिप्रति प्रतिबद्ध रहेकाले अरु कसैले चाहँदैमा सरकार नढल्ने बताएका छन्।
    एमाले तिलोत्तमा नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले मुलुकलाई निकास दिनका लागि दुई ठूला दलबीच समझदारी बनेको र यी दुई दलबीच एकता कायम रहेसम्म अरु कसैको चाहनामा सरकार तलमाथि नहुने बताए । विपक्षी दलहरुप्रति संकेत गर्दै उनले सरकार ढल्छ कि भनेर कोशिस भइरहे पनि त्यो पूरा नहुने बताए ।

    सरकारले एकसय दिनमा गरेका काम सन्तोषजनक रहेको र अबका दिनमा पनि कार्ययोजना बनाएर सरकार अगाडि बढ्ने जानकारी दिंदै सचिव विश्वकर्माले कुनै भ्रममा नपरी सरकारले गरेका राम्रा कामको प्रचारमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

    ‘अहिले लहड र भ्रमका पछाडि लाग्ने प्रवृत्ति देखिएको छ, भ्रम सिर्जना गरेर केही हुँदैन, मुलुक आफ्नो दिशामा अगाडि बढ्छ’–उनले भने । सचिव विश्वकर्माले जनतालाईं भ्रममा पार्ने असफल कोशिस भइरहेको भन्दै यसतर्फ सिंगो एमाले पंक्ति चनाखो भएर दृढतापुर्वक भ्रम चिर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जनताका काम गर्नका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारमा एमाले नेतृत्वमा रहँदा थुप्रै राम्रा काम भएका तर एमालेले नेतृत्व गुमाउँदा विकासमा अलमलको स्थिति सिर्जना हुने गरेको बताए । पार्टीले लिएको नीति, विचार, योजना र कार्यक्रमका आधारमा सिंगो पार्टी पंक्ति परिचालित हुन सकेमात्रै एमाले आफ्नो लक्ष्य र उद्देश्यमा पुग्न सक्ने गैरेले बताए ।

    त्यसअवसरमा एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डे, उपाध्यक्ष नेत्र वन र सचिव मिनप्रसाद पोखरेलले नगर कमिटीले अगाडि सारेका योजना र कार्यक्रमबारे प्रकाश पारेका थिए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।