२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

२५ औं वार्षिकोत्सव मनाउँदै व्यापार संघ, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

आइतवार , कार्तिक ४, २०८१

  • 742
    Shares
  • 742
    Shares
  • बुटवल, ४ कार्तिक । रुपन्देही व्यापार संघको २५ औं वार्षिकोत्सव कार्यक्रमको मूल समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । संघले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा कार्तिक २८ गते आयोजना गर्ने मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा आउने तय भएको संघ अध्यक्ष दीपक प्रसाद अधिकारीले बताए ।
    अध्यक्ष अधिकारीको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्रीलाई भेट गरी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन गरेको आग्रहलाई प्रधानमन्त्रीले स्वीकार गरी कार्यक्रममा उपस्थित हुने संघले जनाएको छ ।

    त्यसै गरी कार्यक्रममा सहभागीताका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरी निमन्त्रणा गरिएको छ । अर्थमन्त्रीले पनि कार्यक्रममा सहभागी हुने जनाउनुभएको अध्यक्ष अधिकारीले बताए ।

    जिल्लाभित्र छरिएर रहेका व्यवसायीहरुलाई संगठित गर्दै संघले आफ्ना नियमित कार्यक्रमहरु तथा निरन्तर व्यवसायिक गतिविधिहरु गर्दै आएको बताउँदै संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा साप्ताहिक रुपमा रजत महोत्सव मनाउने तयारी गरेको जानकारी गराए ।

    उक्त अवसरमा अध्यक्ष अधिकारीले व्यापार संघको बारेमा एवं व्यापार व्यवसायमा देखिएका समस्या र निजी क्षेत्रले सामना गर्नुपरेका असहज अस्वस्थाका बारेमा जानकारी गराउँदै यसमा राज्यले सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा जानकारी गराएका छन् ।

    टोलीमा अध्यक्ष अधिकारीसहित संघका सचिव मनहरी वस्याल, कार्यालय प्रमुख सरोज पोखरेल सहभागी रहेका थिए ।

    संघले साताव्यापी रुपमा आगामी कार्तिक २२ गतेदेखि विभिन्न कार्यक्रम गर्ने जनाएको छ । रजत महोत्सवको अन्तिम दिन मूल कार्यक्रमका रुपमा कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ । त्यसअवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नै, स्मारिका विमोचन तथा स्तम्भ अनावरण गर्ने तयारी गरिएको छ।

    संघले साताव्यापी कार्यक्रम अन्र्तगत कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, कार्तिक २४ गते संघ–संस्था स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कार्तिक २६ गते बृहत रक्तदान कार्यक्रम तथा मुटु र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, कार्तिक २७ गते अस्पतालमा बिरामीलाई निःशुल्क फलफूल वितरण तथा रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम तय गरेको छ । 

    अध्यक्ष अधिकारीले २५ औं वर्षलाई रजत महोत्वसका रुपमा साताव्यापी कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको बताउँदै संघले मनाउन गइरहेको रजत महोत्सव कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । रुपन्देही व्यापार संघ २०५७ साल कार्तिक २८ गते ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराकासाथ विशुद्ध रुपमा व्यवसायीहरुमा परेका समस्याहरुको सम्बोधन गर्न र व्यवसायीहरुको एकतालाई बलियो बनाउने उद्देश्यले स्थापना भएको हो ।