२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

बिपक्षी दलहरुले जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने

शुक्रवार , कार्तिक २, २०८१

  • 613
    Shares
  • 613
    Shares
  • काठमाडौँ  २ कार्तिक । बिपक्षी दलहरुले बिभिन्न जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलहरुको संयुक्त बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, र पुनःस्थापनामा सरकारले गम्भीरता नदेखाएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । ध्यानाकर्षण पत्र बुझाउदा पनि सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय समेत बैठकले गरेको छ ।

    बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा सरकार लागिपरेको भन्दै यस बिषयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बाढी पहिरो लगायत विपत्तिमा सरकारले प्रभावकारी रुपमा खोज, उद्धार, राहतका काम गर्न नसकेको बताए । उक्त बिषयमा विपक्षी दलहरुको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र सुनुवाई नभए विशेष अधिवेशन बोलाउने निर्णय भएको उनले बताए । सरकारले पार्टीगत स्वार्थलाई केन्द्रमा राखेर काम गरेको उनको भनाइ छ । बस्नेतले राजनीतिक पूवाग्रहका आधारमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने जिकिर गरे ।

    त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वर्तमान सरकार पूर्णरुपमा असफल भएको भन्दै बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र दिने निष्कर्ष निकालिएको जानकारी दिए । उनले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाउने नियत राखेको भन्दै सजकताका साथ अघि बढ्ने धारणा राखे । 

    त्यस्तै रास्वपा नेता विराजभक्त श्रेष्ठले राज्यको दूरुपयोग गरेर सभापतिलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताए। यद्दपी सहकारी प्रकरणमा सघाउन सभापति तयार नै रहेको बताए । बैठकले सरकारलाई बिभिन्न बिषयमा ध्यानाकर्षण गराउनका लागि कार्यदल समेत गठन गरिएको उनले जानकारी दिए उनले सवै बिषयमा ध्यानाकर्षण गराउदा पनि बिपक्षी दललाई पेल्ने काम भए बिशेष अधिवेशन आह्वानका लागि अघि बढ्ने उल्लेख गरे । 

    रास्वपा नेता शिशिर खनालले बिपक्षी दलले बनाएको कार्यदलले आगामी कार्तिक ५ गते सरकारको ध्यानाकर्षण गराउने र त्यसपछि बिपक्षी दलबीच समन्वयनको काम गर्ने जानकारी दिए । कार्यदलमा  माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र रास्वपाका शिशिर खनाल रहेका छन ।