२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

माइग्रेन्ट परिवारले दिए १४ जना विद्यार्थीलाई पूर्ण छात्रवृति

बुधवार , आश्विन २३, २०८१

  • 709
    Shares
  • 709
    Shares
  • भैरहवा, २३ असोज । रोजगारीको सिलसिलामा अभिभावक गुमाएका १४ जना विद्यार्थीहरुलाई रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित फयुचर लाइट हाई स्कुलले पूर्ण छात्रवृतिसहित शिक्षा प्रदान गरिरहेको छ । विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीहरुलाई जनप्रतिनिधिको उपस्थितिमा पाँचौ वर्ष पूर्ण छात्रवृति प्रदान गरेको हो ।

    अभिभावक रोजगारीको सिलसिलामा देशबाहिर वा नेपालमा ज्यान गुमाएपछि पनि विद्यालयले अभिभावकत्व लिनुपर्छ भन्दै १४ जना विद्यार्थीलाई माइग्रेन्ट स्कलर्ससीप (पूर्ण छात्रवृति) सहित शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयका प्राचार्य गम्भिर गुरुङले बताए । ‘हामीले पहिला सरकारलाई प्रस्ताव गरेका थियांै, पछि आफैबाट सुरु गर्नुपर्छ भनेर विद्यालयबाट सुरु गरेको हौं, ’उनले भने ।

    बालबालिकाको पालनपोषण र परिवार पाल्ने बाध्यताले नेपालीहरु विदेश गएको  परिवारको खुशीका लागि पसिना बगाउन बाहिरिएका नेपाली कुनै कारणले देश नफर्किएको अवस्थामा त्यस्ता परिवारका बालबालिका पढाइबाट वञ्चित नहोउन् भन्नका लागि पूर्ण छात्रवृति प्रदान गरिएको विद्यालयको सञ्चालक सन्ध्या गुरुङले बताइन् । 

    ‘चैतमा आवेदन खोलेर वर्षभरीको विद्यालय शुल्क, परीक्षा शु्ल्क र त्यसमा लाग्ने शैक्षिक सामग्रीहरु निःशुल्क प्रदान गर्छौं । माइग्रेन्ट हाम्रै ६ जना परिवारले समाजमा केही गर्नुपर्छ भन्दै ५ वर्षदेखि हामीले डिबी फाउण्डेशनमार्फत यो काम गरिरहेका छौ । पहिलो वर्ष ६ जना विद्यार्थीबाट सुरुवात गरिएको यो छात्रवृत्ति अहिले १४ जनालाई प्रदान गरिएको छ, यसलाई निरन्तरता दिदै जानेछौं, ’उनले भनिन् ।

    रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका, अंगभंग भएका र अशक्त बिरामी भएर फर्किएका श्रमिकका सन्तानलाई विद्यालयले छात्रवृत्ति प्रदान गर्दै आएको छ । ‘हाम्रो परिवार पनि माइग्रेन्ट भएकोले पृतलाई सम्झिनका लागि केही सम्मान गर्नुपर्छ भनेर वार्षिक कार्यक्रमको योजना नै बनाएका छौं । अहिले हामी दोस्रो पुस्ताले पृतलाई सम्झिदै यो कार्य गरेका छौ, सामाजिक क्षेत्रमा पनि केही योगदान हुनुपर्छ भनेर पनि तेस्रो पुस्ताले पनि यसलाई पुस्तान्तरण गर्दै निरनतरता दिएको छ, ’प्राचार्य गुरुङले भने । 

    मायादेवी गाँउपालिका वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापाले यस्तो सराहनीय काम सरकारीस्तरबाट हुनुपर्नेमा निजी क्षेत्रबाट उच्च विचारका साथ भइरहेको बताए । 
    विद्यालयले यस वर्ष दशैंको अवसरमा छात्रवृति प्रदान गरेको छ । १४ विद्यार्थीलाई करिब ४ लाख ७० हजार बढीको छात्रवृति प्रदान गरिएको छ । विद्यार्थीहरुलाई शैक्षिक सामग्री ब्याग र स्टेशनरी पनि उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।