
आइतवार , आश्विन २०, २०८१
तिलोत्तमा, २० असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं निर्णय प्रमाणित साधारण सभा शनिबार मणिग्राममा सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । असोज १२ गते १० वटा शाखामा एकाइगत साधारण सभा सम्पन्न गरेको सहकारीले शनिबार (हिजो) निर्णय प्रमाणित साधारण सभा सम्पन्न गरेको हो ।
समुदायमा आधारित जनउत्थानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ । संस्थाका कार्यबाहक अध्यक्ष पुनले सदस्यहरुलाई आर्थिक तथा व्यवसायिक रुपमा सक्षम बनाउन जनउत्थान साकोसले निरन्तर कार्य गरिरहेको बताए । जनउत्थानले केही महिना अघि मात्र एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका बारेमा बुझाउने लगायतका सामाजिक कार्य गर्दै आएको संस्थाले विपद कोषका लागि रकम हस्तान्तरण गरी वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको थियो ।
सो अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनउत्थानसँग लामो समयदेखि आफू परिचित रहेको बताए । उनले सहकारीको यो कठिन घडीमा समेत जनताको मन जित्दै समाजपयोगी कार्य गरेकोप्रति खुसि व्यक्त गरे ।
त्यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीले सहकारीको माध्यमबाट महिलाको सशक्तिकरण गर्दै आएको जनउत्थानले समाज र देशका लागि निकै ठुलो काम गरेको भन्दै खुसी व्यक्त गरिन् ।
संस्थाकी निवर्तमान अध्यक्ष ज्ञानु पौड्यालले सहकारीको उद्देश्य पूर्तिका लागि सञ्चालक सदस्य, कर्मचारी, शेयर सदस्यहरुको लगावले संस्थाले यो प्रगतिको शिखर चुमेकोप्रति खुशी व्यक्त गरिन् । पछिल्लो समय सहकारीको नाममा जनताप्रति निराशा पैदा भइरहेको बेला जनउत्थानले आफ्नो उदेश्यमा अडिग रही सफलता हासिल गरेको उनले बताइन् ।
संस्थाकी सचिव सरु रानाले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको र समाजमा जनउत्थानको नाम उचो बनाएको समेत बताइन् । संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा पनि धेरै सदस्य लाभान्वित भएको उनले बताइन् ।
संस्थाकी कोषाध्यक्ष विष्णुमाया कुँवरले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थालाई दिगो रुपमा सबल बनाउन सबैको सहयोगको खाँचो रहेको र त्यसप्रति सञ्चालक सदस्यहरु पूर्ण जिम्मेवार रहेको जानकारी दिइन् ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, जनउत्थान सहकारीका व्यवस्थापक रन बहादुर थापा लगायतले बोलेका थिए ।
अध्यक्षमा गिरी प्रसाद पुन
जनउत्थान सहकारीको प्रतिनिधिमूलक निर्णय प्रमाणित सभाको आयोजना गर्दै कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा सरु राना, सचिवमा अन्जु जैसी र कोषाध्यक्षमा निल प्रसाद पुन रहेको छन् । त्यस्तै सञ्चालक समिति सदस्यहरुमा गंगा सुवेदी, विष्णु माया कुँवर, सीता पाण्डे, खिम बहादुर राना, सपिÞmउर्हमान अन्सारी, भएर बहादुर थापा, जोग बहादुर सुर्यवंशी, पुरन बहादुर शाही र लिला कुमारी थापा रहेका छन् । साधारण सभाले खुमाकान्त अधिकारीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा राम बहादुर सोमार र रुपा भण्डारी रहेका छन् ।
न्यौपानेलाई सहकारी पत्रकारिता पुरस्कार
तिलोत्तमा सिटी न्युजका सम्पादक मोहन न्यौपाने जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको जनउत्थान सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहकारीको शनिबार सम्पन्न १९ औ साधारण सभाको अवसरमा गरिएको पत्रकार सम्मान कार्यक्रममा न्यौपाने सम्मानित भएका हुन् । पत्रकार न्यौपानेलाई संस्थाका कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुन, प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरी, लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, सहकारीकी निवर्तमान अध्यक्ष ज्ञानु पौड्याल लगायतले सम्मानपत्र, नगद रु. १५ हजारले सम्मान गरेका हुन् । न्यौपाने नेपाल पत्रकार महासंघ रुपन्देहीकाल कार्यसमिति सदस्य समेत हुन् ।
समाचारको माध्यमबाट सञ्चार जगतमा सहकारीको प्रचारप्रसारमा योगदान गरेवापत सहकारीले हरेक वर्ष एकजना पत्रकारलाई सम्मान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij