२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

‘महिला हिंसाको प्रमुख कारण आर्थिक असक्षमता’ 

आइतवार , फाल्गुण २३, २०७७

नवलपरासी, २३ फागुन । 
पश्चिम नवलपरासीका महिलाहरुले आर्थिक असक्षमता भएकै कारण समाजमा महिला हिंसा र हक अधिकारबाट आफूहरु वञ्चित हुनुपरेको बताएका छन् ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामनगर महिला सञ्जालले शनिबार पश्चिम नवलपरासीको भुमहीमा आयोजना गरेको ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभाागि वक्ताहरुले सो कुरा बताएका हुन् । 

आफूमाथि हिंसा र दुव्र्यवहारका घटनाहरु भइरहँदा पनि परिवार र समाजबाट उपेक्षाको डरले त्यस्ता घटनाहरु लुकाउने महिला स्वयंको बानीले समाजमा महिला हिंसा र दुव्र्यवहारका घटनाले अझै थप बढावा पाएको उनीहरुको भनाइ छ ।

कार्यक्रममा बोल्दै महिला कानुन व्यवसायी सरस्वती शर्माले महिलाहरुलाई उत्पादनमुलक काममा अग्रसर गराउँदै उनीहरुको चेतनास्तर र आर्थिकस्तर वृद्धि गराउन सकियो भने मात्रै महिला सशक्तिकरणको नाराले सार्थकता पाउने बताइन् । उनले एकल महिलाले पनि पुर्नविवाह गर्न पाउनुपर्ने अधिकारलाई समाजले सकारात्मक दृष्टिले हेर्नुपर्ने बताउँदै आफ्ना हकअधिकारहरुका लागि आवाज उठाउँदै गर्दा महिलाहरूले पनि समृद्ध देश बनाउनका निमित्त आफ्नो कर्तव्य पनि भुल्न नहुने बताइन् ।

त्यस्तै सुनवल नगरपालिकाका रप्रमुख भिमबहादुर थापा क्षेत्रीले महिलाहरुलाई व्यवसायिक बनाउन सकियो भने मात्रै समृद्धिको सपना पुरा हुने बताए । उनले नगरभित्रका महिलाहरुलाई अर्थोपार्जनमुलक विभिन्न सिप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउनका निमित्त आफुहरुले नगरभित्रका १३ वटा वडामा नै महिला उद्दम केन्द्र स्थापना गरेको र महिलाको हकअधिकारका साथै रोजगारलाई सुनिश्चित गर्न नगर कटिबद्ध रहेको बताए ।

सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले महिलाहरुलाई उद्धमी बनाउने उद्देश्यले महिलाहरुको नाममा सञ्चालन भएका व्यवसायहरुका लागि नगरपालिकाले कर छुटको व्यवस्था गरेको  बताए । उनलेसुत्केरी महिला र नवजात शिशुको लागि नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्ता वितरण गरेको र नगरभित्रका सम्पूर्ण विद्यालयमा किशोरीहरुको लागि सेनेटरी प्याडको निःशुल्क व्यवस्था गरिदिएको समेत बताए ।

रामनगर महिला सञ्जालका अध्यक्ष दुर्गा बस्याल पाण्डेको अध्यक्षता तथा सचिव बबिता वि.क.को सञ्चालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य उषा बञ्जाडे न्यौपाने, राजनीतिज्ञ अडिक बिक, साहित्यकार तथा पत्रकार डा. शिवशंकर बस्याल, पत्रकार मालती न्यौपाने, रामनगर उद्यम केन्द्रका अध्यक्ष राधिका न्यौपाने, रामनगर बाल सञ्जालका सचिव तारा डुम्रे लगायतले महिला हकअधिकार र रोजगारका विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।