२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔं : मुख्यमन्त्री आचार्य

बुधवार , आश्विन ९, २०८१

  • 736
    Shares
  • 736
    Shares
  • अर्घाखाँची, ९ असोज । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिति अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताएका छन् । 

    जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धिखर्कमा बुधबार आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउने गरी हुनुपर्ने बताएका हुन् । 

    उनले विगतमा गरिएका कामको समीक्षा गर्दै भावी योजना निर्माणमा जुट्न आह्वान पनि गरे । ‘मुलुक बनाउन बाहिरको मान्छे कोही आउनेवाला छैन् । यसको जिम्मेवारी तपाई हामीले नै उठाउनुपर्छ । तीन तहकै सरकारले आफ्ना योजनालाई परिणाममुखी बनाउन जरुरी छ’उनले भने,‘हामीले अहिले सम्म के गर्यौं ? के उपलब्धी भयो ? के समस्याहरु आएँ ? अव कसरी अघि बढ्ने योजना बनाउन जरुरी छ ।’ 

    उनले योजनाको समिक्षा नगरीकन अर्को योजना बनाउँदा सफलता नमिल्ने भन्दै समीक्षाबाटै निकास खोज्न आह्वान गरे । चालु आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरे । ‘प्रदेश सरकारले पुरक बजेट ल्याला की ? बजेट रकमान्तरण गर्ला की ? भन्ने सोंचमा हुनुहुन्छ भने त्यो सोंच त्याग्नुस । हामी पुरक बजेट पनि ल्याउदैनौं । बजेट रकमान्तरण पनि गर्दैनौं । जे बजेट आएको छ । त्यसलाई कार्यान्वयन गर्छौं’उनले भने,‘योजना कार्यान्वयन हुँदा गरिने बदमासी र चुहावटलाई रोक्न पाँच लाखभन्दा माथिका सबै योजनालाई प्रतिष्पर्धाको माध्यमबाट गर्ने भनेका छौं । यो निर्णयलाई कार्यान्वयन गरेर जानैपर्छ । सबै निकायमा परिपत्र भइसकेको छ ।’ 

    उनले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाए । ‘केही कानूनी बाधा, जटिलता छन् । ती बाधा, जटिलता फुकाउन हिउँदे अधिवेशनमा छलफल हुन्छ’उनले भने,‘जिल्ला समन्वय समितिको भूमिका बढाउन नीतिमै सुधार गर्छौं ।’ स्थानीय तहको कामलाई प्रभावकारी बनाउन स्थानीय सेवा ऐनले भूमिका खेल्ने, थप्नुपर्ने बिषयहरु भए संसोधन गरेर जान सकिने बाटो खुला रहेको मुख्यमन्त्री आचार्यले बताए । 

    कार्यक्रममा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, पूर्वमन्त्री शुशिला सेर्पाली ठकुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

    जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनाराण कोइरालाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका सदस्य कमल प्रसाद घिमिरेले गरेका थिए ।