
शनिवार , आश्विन ५, २०८१
भैरहवा, ५ असोज ।
रुपन्देहीको मायादेवी गाउँपालिका–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनमा शुक्रबार एकदिने शिक्षक तालिम सम्पन्न भएको छ । कक्षा १ देखि ७ सम्मका शिक्षकहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिममा २५ जना शिक्षकहरूको सहभागी रहेको विद्यालयले जनाएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी शिक्षा निकेतनका अध्यक्ष गोविन्द ज्ञवालीले शिक्षक दक्ष भए त्यसको प्रभाव विद्यार्थीको सिकाइमा पर्ने भएकाले विद्यालयले शिक्षकको दक्षतालाई निखार्न विद्यालयको क्यालेण्डरमा नै उल्लेख गरेर निरन्तर तालिमको व्यवस्था गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता छोटा तथा लामा अवधिका तालिमहरु आयोजना गर्ने जानकारी दिए।
विद्यालयका प्रबन्ध सञ्चालक पिताम्बर न्यौपाने (विष्णु) ले विद्यालयको गुणस्तर सुधार्नको निम्ति वृद्धि शिक्षक तालिम अपरिहार्य रहेको बताए । उनले विद्यालयले तालिम लगायत शिक्षकको सीप र दक्षतालाई अभिवृद्धि गर्ने कार्य निरन्तर गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
तालिमको सहजकर्ता लिलामणि पाण्डेले बदलिदो समयसँगै विद्यार्थीहरूको सहनशीलतामा कमी आएको हुँदा उनीहरूको भावनालाई ठेस पार्ने गरी व्यवहार गर्दा उनीहरुबाट गलत निर्णय भइ क्षति हुन सक्ने सम्भावना बढेको ताए ।
विद्यालय सञ्चालक समिति सदस्य मिथुन मान श्रेष्ठले आगामी दिनमा पनि विभिन्न आवश्यक विषयहरुमा मोड्युल तयार गरेर यस्ता छोटो अवधिका तालिमहरु निरन्तर गरिरहने र त्यसको निम्ति विद्यालय व्यवस्थापनले सहयोग गर्ने बताए ।
तालिममा सहभागी शिक्षकहरूले तालिमबाट थुप्रै कुराहरू सिक्न पाएको र आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन भएमा अतिरिक्त समय दिएर भए पनि तालिम लिँदै र सिकेका कुराहरु कक्षामा अवलम्बन गर्दै शिक्षामा योगदान दिने प्रतिवद्धता व्यक्त गरे ।
विभिन्न संघ–संस्थाहरूमा सहायक प्राचार्य तथा प्राचार्यको भूमिकामा लामो समय अनुभव बटुलेका लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्राध्यापक लिलामणि पाण्डेद्वारा सहजीकरण गरिएको उक्त तालिम मुख्यतया चारवटा बुँदामा केन्द्रित थियो ।
पहिलो : शिक्षण पेशा आफैमा एक सम्मानित पेशा हो, त्यसैले शिक्षकहरूले विद्यार्थीसँग गर्ने व्यवहार, आफ्नो तयारी र उत्तरदायित्व बोधले यो पेशालाई सम्मानित गराउन मद्दत गर्दछ ।
दोस्रो : कक्षामा विद्यार्थीहरूले शिक्षकप्रति यदाकदा दर्शाउने अस्वभाविक व्यवहारलाई असमझदारीपूर्वक शिक्षक तथा अभिभावकहरुले विद्यार्थीहरूको अवज्ञा वा विरोध भनेर बुझ्ने गरिएको पाइन्छ । वास्तवमा विद्यार्थीहरू विभिन्न पृष्ठभूमिबाट आएका हुन्छन् । उनीहरुले घरदेखि समाजसम्म विभिन्न कुराहरू देखेका, सुनेका र भोगेका हुन्छन् । पृष्ठभूमिमा चलिरहने ती परिस्थितिहरुले पनि विद्यार्थीहरूको व्यवहारमा प्रभाव पारेको हुन्छ ।
अर्को दृष्टिकोणबाट हेर्दा शिक्षकको प्राथमिकता भनेको विद्यार्थीहरूले राम्रो अध्ययन गरुन् र उच्च अंक हासिल गरुन् भन्ने हो भने विद्यार्थीहरूको प्राथमिकता उनीहरूको रुची र स्वभाव अनुसार हुन सक्छ । शिक्षकले दिएको निर्देशनलाई विद्यार्थीले तुरुन्तै पालना नगरेको भनेको उसको अवज्ञा होइन बरु शिक्षकको निर्देशन उसको दोस्रो प्राथमिकता भएको हुन सक्छ । तसर्थ अवज्ञा र विरोध नभइ यो विद्यार्थीहरुको परिस्थितिजन्य व्यवहार हुन सक्छ । यस्तो परिस्थितिमा शिक्षकले संयमित भइ विद्यार्थीको परिस्थितिलाई बुझेर उनीहरुलाई सहयोग गर्दै, उनीहरूको भविष्य निर्माणमा योगदान पुर्याउनुपर्छ । शिक्षण पेशा रोज्नु आफैमा चुनौती हो र यही चुनौतीले शिक्षकलाई समाजमा मर्यादित र सम्मानित भएर जीवनयापन गर्न सहयोग गर्छ । तसर्थ यो एक मर्यादित पेशा हो ।
तेस्रो : शिक्षक एक कुशल सञ्चार कला भएको व्यक्ति हुनुपर्छ । शिक्षकले भनेको कुरा विद्यार्थीले बुझ्न सक्ने गरी प्रभावकारी तरिकाले व्यक्त गर्ने कला शिक्षकले आफूमा विकास गर्नु अपरिहार्य छ । शिक्षकको यो कलामा विद्यार्थीहरुले बुझ्नुपर्ने जति बुझ्न सके वा सकेनन् भन्ने कुरा निर्भर गर्दछ । तसर्थ कम्युनिकेशन स्किल शिक्षकमा हुनुपर्ने एक महत्वपुर्ण गुण हो ।
र, तालिमको अन्तिम विषय शारीरिक दण्ड थियो । कक्षामा शिक्षकले प्रयोग गर्ने शारीरिक दण्ड आफैमा बाल अधिकार विरुद्धको अपराध हो । मौलिक हकले प्रदान गरेको शारीरिक यातना विरुद्धको हकको बर्खिलाफ हो । शिक्षण पेशाले अनुमति नदिने अनैतिक कार्य हो । त्यसै गरी सक्नेले नसक्नेलाई हेप्ने जसलाई अंग्रेजीमा बुली भनिने समस्या हो भने यो कानूनी रुपमा दण्डनीय अपराध पनि हो ।
शारीरिक दण्डको विकल्पमा तालिमका सहभागीहरुबाटै शारीरिक दण्डको विकल्पमा विद्यार्थीहरूको व्यवहारलाई सकारात्मक सोचेर सहानुभुति र धैर्यतापूर्वक व्यवहार गर्ने र उनीहरुलाई सिकाइमा सहयोग गर्ने, विद्यार्थीहरूलाई नै सहभागी बनाएर कक्षागत आचारसंहिताहरू निर्माण गर्ने र ती आचारसंहिताहरू उल्लंघन गरेको खण्डमा बेहोर्नुपर्ने परिणामको बारेमा स्पष्ट पार्ने, दण्डको साटो पुरस्कारहरूको व्यवस्था गर्ने, परिश्रम गर्न र सकारात्मक सोचको विकास गर्न प्रोत्साहन गर्दै जाँदा विद्यार्थीहरूले ती बानीहरुलाई पुनरावृत्ति गर्ने र त्यही अनुरुप उनीहरूको व्यवहारमा पनि सुधार हुँदै जाने हुँदा दण्डको आवश्यकता नै नपर्ने विकल्प तालिममा सहभागी शिक्षकहरुले आफै प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij