२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

सहकारी चोरी प्रकरण : न भेटियो रकम, न त घटनामा संलग्न व्यक्ति

बुधवार , भाद्र १९, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, १९ भदौ ।
    रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत मर्चवारी गाउँपालिका–५ महुवारीस्थित श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको दुई साता बढी बितिसक्दा पनि घटनाका संलग्न व्यक्तिहरुबारे पत्ता लाग्न सकेको छैन । गत साउन ३१ गते राती उक्त सहकारीमा चोरी भएको थियो । तर, हालसम्म न चोरी भएको रकम भेटिएको छ न त चोरीको घटनामा संलग्न व्यक्तिहरु नै ।

    घटनापछि यसबारे विभिन्न किसिमको आलोचना भइरहेको छ । यति दिन बितिसक्दा घटनाबारे केही पनि पत्ता नलागेका मर्चवारी–४ का सुग्रिम यादवले बताए । उनले भने, ‘त्यति ठुलो रकम त्यहाँ व्यवस्थापन गर्नु र कति रकम कहाँ छ भन्ने जानकारी कर्मचारी र पदाधिकारीबाहेक कसैलाई थाहा हुँदैन त्यसले उहाँहरुमाथि पनि अनुसन्धान गरी शेयर सदस्यहरुको रकम फिर्ता ल्याइ घटनामा संलग्न व्यक्तिहरुलाई कडा कारवाही हुनुपर्छ ।’

    ताला तोडेर सहकारीको कार्यालयमा प्रवेश गरेका दुईजना अपरिचित व्यक्तिहरुले लुटेको २३ लाख ११ हजार ४४ रुपैयाँ अझै फेला नपरेको श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिनेश कुमार मौर्यले बताए । उनले भने, ‘चोरीको घटनाबारे सबै अनुसन्धान पूर्ण रुपमा प्रहरीको हातमा छ । प्रहरीको अनुसन्धानमा हाम्रो सहयोग छ । तर, अहिलेसम्म केही फेला परेको छैन ।’ 

    सहकारीको भवनमा लगाइएको सिसिटिभी क्यामरामा कैद भएको भिडियो अनुसार रकम चोरी गर्न दुईजनाको समूहले साउन ३१ गते राती करीब ११ः४५ बजे स्वावलम्बनको रिटेनिङ्ग वालबाट आएको देखिएको व्यवस्थापक मौर्यले बताए । मौर्यले भने, ‘दुवै जना भवनको मूल गेटको ताला तोडेर पहिलो तल्लामा प्रवेश गरेका थिए । पहिलो तल्लाको ताला तोडेर एकजना आर्थिक कारोबार गर्ने विभाग गए र अर्को लकर भएको अध्यक्षको कार्यकक्षमा प्रवेश गरेका थिए । यस्तो देख्दा उनीहरुलाई लकर र आर्थिक कारोबार गर्ने ठाँउ राम्रोसँग जानकारी भएको देखिन्छ ।’

    लकरबाट ६ लाख रुपैयाँ र दैनिक आर्थिक कारोबार गर्ने काउण्टरबाट १७ लाख ११ हजार ४४ रुपैया चोरी भएको उनले जानकारी दिए । व्यवस्थापक मौर्यले दिएको जानकारी अनुसार करिब १ हजार २ सय जना शेयर सदस्य रहेको उक्त सहकारीको पूँजी रु. १६ करोड छ । ११ करोड १२ लाख ऋण लगानी भएको उक्त सहकारीमा हाल व्यवस्थापकसहित ४ जना कर्मचारी कार्यरत छन् । 

    ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक हिमनाथ घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार चोरीमा संलग्न दुईजनाको पहिचान खुल्न सकेको छैन ।’ उनले सहकारीमा लागेको क्यामरामा कैद गरिएको भिडियो हेर्दा यो चोरीको घटनामा प्रत्यक्ष संलग्न भएको ती दुई व्यक्तिहरुको हाउभाउ अनुसार सहकारीबारे जानकार भएको देखिएको बताउँदै कर्मचारीसहित त्यहाँ नियमित आउने–जानेहरुसँग सोधपुछ भइरहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय मझगावाँको सहकार्यमा घटनाको छानबीन भइरहेको उनले बताए ।