२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिन्छ : अर्थमन्त्री पौडेल

आइतवार , भाद्र १६, २०८१

  • 628
    Shares
  • 628
    Shares
  • काठमाडौं, १६ भदौ ।
    उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राजनीतिक अस्थिरताको असर मुलुकको अर्थतन्त्रमा परेकाले स्थिर सरकार बनाउनुपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले वर्षमा तीनपटक अर्थमन्त्री फेरिने अस्थिरताको अवस्थाले मुलुकको अर्थतन्त्र लगायतका क्षेत्रमा नकारात्मक असर परेको भन्दै स्थिर सरकार बनाउनुपरेको बताएका हुन् ।

    उनले अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिने बताए । बाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको र प्रयाप्त तरलता हुँदाहुँदै पनि लगानी बढ्न नसकेको अवस्थालाई सवै मिलेर अन्त्य गर्नुपर्ने उनको भनाइ छ । 

    अर्थमन्त्री पौडेलले अहिलेको मौद्रिक नीति लचिलो रहेको र अर्थतन्त्रको समस्या समाधानका लागि केही योगदान पुग्ने विश्वास व्यक्त गरे । अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सरकारको कदम प्रयाप्त नभएको देखिएकोले सरकार निजी क्षेत्रलाई साथमा लिएर सशक्त ढंगले अघि बढ्न तयार रहेको उनले बताए ।

    त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रको मनोबललाई उच्च राख्न केही आधारशिला तयार भएको भन्दै यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने धारणा राखे । चालू आर्थिक वर्षको सुरुमै पूँजीगत खर्च राम्रो देखिएको, राजस्व संकलन सकारात्मक, कर्जा प्रवाहले समेत राम्रो संकेत देखाएको उनले बताए । उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारसँग समन्वय गरेर आवश्यक ऐन कानूनको सुधारमा ध्यान दिएको उल्लेख गरे ।

    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सेयर लगायतका घरजग्गा लगायतका क्षेत्रमा देखिएका सकारात्मक संकेतलाई दिगो बनाउनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने कामले अर्थतन्त्रमा असर पर्न सक्ने उनको भनाइ छ ।