२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीको निर्देशन

बिहिवार , भाद्र १३, २०८१

  • 676
    Shares
  • 676
    Shares
  • दाङ, १३ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहीवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुखसहित कर्मचारीहरुसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले ६–७ महिनादेखि दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्व भुक्तानी गर्न दिर्नेशन दिएका हुन् ।

    ‘तपाईहरुसँग छलफल गर्न चाहन्थे । किसानले दुधको भुक्तानी नपाउँदा समस्या परेको छ । मसम्म पनि किसानको कुरा आइपुगेको छ । दुधको भुक्तानी रोकिदा चौतर्फी असर परेको छ । छिटो भुक्तानी गर्नुहोस् । उनले भने‘किसानको भुक्तानी रोकेर राख्नहुँदैन । म संघीय सरकारसँग पनि यसबारेमा पहल गर्छु ।’ 

    गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थ मन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

    लुम्बिनी प्रदेशको ग्रामिण अर्थतन्त्रको बलियो आधारको लागि दुग्ध व्यवसायलाई प्रबद्र्धन गर्ने गरी प्रदेश सरकारले समेत योजना बनाउने मुख्यमन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे । 
    भेटमा नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरीले दुधमा आत्मनिर्भताको लागि नेपालगंज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गरेका छन् । यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् ।
     
    दुध उत्पादन बढ्दै गए पनि बजारीकरणको समस्या किसानले भोग्नुपरेको छ । असोज महिनादेखि चैतसम्म दैनिक आठ हजार लिटर दुध संकलन हुने गरेको छ । असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन, चैत महिनामा दुध उत्पादन बढे पनि बजारीकरण गर्न समस्या हुदा मिल्क होलिडेको मारमा किसान छन् । तर, वैशाखदेखि भदौ महिनासम्म दुध संकलन भने ह्वात्तै घट्ने हुदा दुधको बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने गरेको छ । 

    वैशाख, जेठ, असार, साउन, भदौ महिनामा दैनिक दुई हजार लिटर मात्रै दुध संकलन हुँदा बजारको माग धान्न नसक्ने अवस्था रहेको छ । दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरिगाउँ चिस्यान केन्द्रबाट दुध संकलन हुदै आएको छ । 

    त्यस्तै सुर्खेतको छिन्छु दुध चिस्यान केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुदै आएको हो । एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध विक्रीवितरण गर्दै आएका छन् । उद्योगबाट प्रतिघण्टा १ हजार लिटर दुध प्रशोधन गर्न सक्ने क्षमता छ । हाल दैनिक १२ हजार लिटर दुध संकलन हुदै आएको आयोजना कार्यालयले जनाएको छ । दुधको सहज बजारीकरणको लागी पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ ।