
शुक्रवार , श्रावण ३२, २०८१
भैरहवा, ३२ साउन ।
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले एमालेको नेतृत्वमा सरकार बनेपछि देशमा आज एउटा आशा जागेको दावी गरेका छन् । उनले नेपाललाई विकसित देश बनाउन लागिपरेको बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि एउटा विश्वास जागृत भएको छ, स्थायीत्वको लागि विश्वास जागृत भएको छ । विकास र समृद्धिका लागि केही गरौं भन्ने भावना पैदा भएको छ । यो हाम्रो लागि खुसी र गौरवको कुरा हो । यसलाई हामीले अगाडि बढाउनुपर्नेछ ।’
उनले देश, समाज र संस्कृतिको बारेमा सबैले सोच्ने बेला भएको बताए । उनले अहिलेको पुस्ताको वर्तमान उज्यालो र भविष्य झनै उज्यालो भएको बताए । राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहेका नेता भट्टराईले हिजोका दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्ने हो कि भन्ने चिन्ता भए पनि अब एअरपोर्ट चल्ने दावी गरे । उनले भने, ‘हामी नेपाललाई समृद्ध र विकसित देशको रुपमा बदल्छौं ।’
उनले गौतमबुद्धको जन्मभूमि लुम्बिनी विश्वका अरबौं मानिसको तीर्थस्थल भएको बताए । एमाले विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत रहेका भट्टराईले मुलुकलाई समृद्ध र विकसित बनाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए । उनले नेपाल जस्तो सुन्दर देश संसारमा कुनै पनि देश नरहेको दावी गरे । उनले भने, ‘हामी पढ्नका लागि अमेरिका, युरोप, अष्ट्रेलिया जाने होइन । यो देशका मानिसहरु रोजगारको निम्ति, पढ्नको निम्ति विदेश जानुपर्ने कुरा दुःखद हो । संसारभरीका मानिस घुम्न, पढ्न र रोजगारीका लागि नेपाल आउने देश बनाउनुपर्छ । हामीलाई समृद्ध देश चाहिएको छ । हामीलाई गरीब देशको विद्यार्थी र युवा पुस्ता हुनु छैन ।’
नेता भट्टराईले गुणस्तरीय, स्वरोजगारमुखी, सीपमूलक र प्राविधिक शिक्षा आजको आवश्यक रहेकोमा जोड दिए । उनले यसका लागि एमाले नेतृत्वको अहिलेको सरकारले काम गरिरहेको बताए । उनले भने, ‘तपाईहरु अगाडि बढ्नुस्, हामी सबै तपाईको साथमा छौं ।’
त्यस्तै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्तीले अनेरास्ववियुले विभिन्न आन्दोलन र कार्यक्रमको नेतृत्व गरेको बताए । उनले अब विद्यार्थीहरु किताबको दायरामा मात्र नभइ नेपालको राजनीति र विद्यार्थी आन्दोलनबारे पनि बुझ्नुपर्ने बताए ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले विद्यार्थीलाई सबल र सक्षम नागरिक बन्न आग्रह गरे ।
पार्टीको सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले विद्यार्थीहरुलाई स्वदेशमै टिकाउन अनेरास्ववियुले पनि भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अनेरास्ववियु केन्द्रीय सचिव दीपक धामीले अबको क्रान्ति मोबाइलबाटै गर्न सकिने बताए ।
रेडियन्ट कलेज तिलोत्तमा–५, रुपन्देहीका प्रिन्सिपल अनन्तराज पाण्डेले शिक्षामा प्रगति गर्ने हो भने एउटा कक्षाकोठामा ३०–३५ जना भन्दा बढी विद्यार्थी राख्न नहुने बताए ।
अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष भरत अर्यालले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउनुपर्नेमा जोड दिएका थिए ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष तथा अनेरास्ववियुका केन्द्रीय सदस्य सागर न्यौपानेले विद्यार्थीको मुद्दामा अनेरास्ववियुले निरन्तर आवाज उठाइरहेको बताए ।
अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष तथा सिद्धार्थनगर विद्यार्थी इञ्चार्ज सरोज ठकुरीले सम्मान कार्यक्रम चौथोपटक गरिएको बताए । उनले विद्यार्थीहरुको मनोबल बढाउन यो कार्यक्रम गर्दै आएको बताए ।
अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष के.एल. पाण्डेको अध्यक्षता, नगर कोषाध्यक्ष कमल घिमिरेको स्वागत तथा सचिव संजोग बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुबाट कक्षा १२ को वार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको अनेरास्ववियु रुपन्देहीका कोषाध्यक्ष सुनिल खनालले जानकारी दिए । त्यस्तै कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने सिद्धार्थनगरका विद्यालयहरुलाई पनि सम्मान गरिएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij