२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

नदीजन्य पदार्थको अवैध निकासी रोक्न सुनवल नगरप्रमुख अर्याल एक्सनमा

बिहिवार , श्रावण ३१, २०८१

  • 937
    Shares
  • 937
    Shares
  • परासी, ३१ साउन । 
    नदीजन्य पदार्थको अवैध रुपमा चोरी तस्करी बढ्न थालेपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले निगरानी बढाएको छ । सुनवलका विभिन्न खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थको तस्करी भएपछि सुनवल नगरपालिकाकी प्रमुख (मेयर) विमला अर्याल एक्सनमा उत्रिएकी हुन् । 

    मेयर अर्यालसहितको नगरको टोलीले बुधबार सुनवलको तुरिया खोलामा पुगेर अवैध रुपमा नदीजन्य पदार्थको चोरी तस्करी गरिरहेका दुईवटा टिप्परलाई नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ लोड गरी लाँदै गरेको अवस्थामा लु १ क ४५३७ र लु २ ख ३००८ नम्बरको टिप्परलाई नगरपालिकाले नियन्त्रणमा लिएको हो । 

    असार, साउन र भदौ महिनामा नदीजन्य पदार्थ उत्खननमा सरकारले प्रतिबन्ध लगाउने गरेकोले यो समयको मौका छोप्दै सुनवलका तुरियासहित विभिन्न खोलाहरुबाट दैनिक रुपमै ठूलो मात्रामा नदीजन्य पदार्थको अवैध तस्करी भईरहेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । नदीजन्य पदार्थको अवैध चोरी निकासी बढेपछि नियन्त्रणको लागि आफै खोलामा खटिनुपरेको नगरप्रमुख अर्यालले बताइन् ।

    बुधबार बिहान खोलामा पुग्दा तस्करीहरु भाग्न सफल भएपछि दिउँसो पुनः अचानक खोलामा पुगेर टिप्पर नियन्त्रणमा लिएको नगरप्रमुख अर्यालले बताइन् । नियन्त्रणमा लिइएका दुवै टिप्पर नदीजन्य पदार्थसहित नगरपालिकाले नियन्त्रणमा राखेको छ । 

    एक महिना यथास्थितिमा राखी थप कारवाही गरिने नगरपालिकाले जनाएको छ । अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइने टिप्परलाई पहिलो पटकको रु. १लाख, ट्याक्टरलाई रु. ६० हजार र जेसिबीलाई रु. २ लाख जरिवाना गरिने नगरपालिकाले जनाएको छ । दोस्रोपटक पनि समातिएमा दोब्बर जरिवाना र त्यसपछि समातिएमा त्यसको पनि दोब्बर जरिवाना लिने गरिएको सुनवल नगरपालिकाले जनाएको छ ।