२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे सरकारले गरेका पछिल्ला निर्णय स्वागतयोग्य’

बुधवार , श्रावण ३०, २०८१

  • 538
    Shares
  • 538
    Shares
  • भैरहवा, ३० साउन ।

    सिद्धार्थ होटल संघ नेपाल (सान) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे सरकारले गरेका पछिल्ला निर्णय स्वागतयोग्य भएको जनाएको छ । संघले सरकारलाई निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै केही आशंका समेत व्यक्त गरेको छ । संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले बुधबार विज्ञप्ती जारी गर्दै सरकारको निर्णयले भैरहवा–लुम्बिनी क्षेत्र केही भए पनि चलायमान हुने अपेक्षा व्यक्त गरेका हुन् ।
     
    अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हालै वर्तमान सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि आवश्यक सबै संयन्त्र भैरहवामै स्थापना गर्ने गरी कार्ययोजना तयार पारेको छ । स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम केन्द्र, बिमा, श्रम स्वीकृत जारी गर्ने कार्यालय र म्यानपावर कम्पनीहरु स्थापना लगायतका निर्णय गरेको छ । केही समय अघि सरकारले थाई एयर एसियालाई भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति दिएको थियो । यसबाट हामी हर्षित छौं ।’
     
    संघले विमानस्थल पूर्णक्षमतामा सञ्चालन, आवश्यक पूर्वाधार तयार लगायतका विषयमा विगत लामो समयदेखि आवाज उठाउँदै आएको छ । ‘विमानस्थल पूर्णक्षमतामा संचालनका लागि हामीले ज्ञापन पत्र बुझाउनेदेखि आन्दोलनसम्मका कार्यक्रम गर्यौं । विगतका सरकारदेखि वर्तमान सरकारसम्म हामीले विमानस्थल सञ्चालनका सन्दर्भमा निरन्तर दबाब दिँदै आएको सबैमा सर्वविदितै छ । यसले केही सार्थकता पाएको छ’, विज्ञप्तीमा उल्लेख छ ।
     
    विमानस्थल बनाउन राज्यको अर्बौं लगानी भएको छ । विमानस्थललाई हेरेर निजी क्षेत्रबाट त्यसको दोब्बर लगानी भएको छ । लुम्बिनी प्रदेश र सिंगो मुलुकको पर्यटन केन्द्र बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विमानस्थल बनाइएको हो । ‘लामो समय विमानस्थल पूर्णक्षमतामा संचालनमा नआउँदा निजी क्षेत्र निराश भएको अवस्थामा ढिलै भए पनि वर्तमान सरकारले गरेका पछिल्ला केही सार्थक प्रयासलाई सिद्धार्थ होटल संघ नेपालले स्वागत गर्दछ’, अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो माग तत्काल दैनिक उडान हुनुपर्छ भन्ने हो । सरकारले हालै गरेका निर्णयलाई स्वागत गर्दै नेपाल वायुसेवाबाट भए पनि भैरहवा–दिल्ली, भैरहवा–श्रीलंका, भैरहवा–चीन लगायत बुद्धिष्ट मुलुकमा नियमित उडान हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ । यसका साथै सरकारले अन्य मुलुकसँग सहमती, सहकार्य र पहलकदमी गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवामा आकर्षित गर्न निरन्तर लाग्नुपर्छ ।’
     
    सरकारले यो विमानस्थललाई मुलुककै गौरव सम्झिएर अझ विशेष ध्यान दिन जरुरी रहेको संघले जनाएको छ । ‘किनकी विमानस्थल नचल्दा राज्यको अर्बौं लगानी जोखिममा छँदैछ, निजी क्षेत्र डुब्ने तरखरमा छ । निजी क्षेत्रलाई माथि उकास्न र पर्यटन विकासका लागि पनि विमानस्थल तत्कालै पूर्णक्षमतामा चल्नुपर्छ’, विज्ञप्तीमा भनिएको छ । संघले प्रदेशदेखि संघका मन्त्री, पूर्वप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत पटकपटक ध्यानकर्षण गराइसकेको जनाएको छ ।
     
    ‘वर्तमान सरकार बन्नेबेलादेखि हालसम्म पनि विमानस्थल र लुम्बिनी क्षेत्रका बारे हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर र ज्ञापनपत्रमार्फत् जानकारी गराइसकेको छौं । जसका कारण केही सार्थकता मिलेको हाम्रो बुझाई छ । यसैले सरकारले हालै गरेका निर्णयहरु तत्काल कार्यान्वयनमा लैजानुपर्छ’, विज्ञप्तीमा भनिएको छ, ‘विगतमामा गरेका कयौं निर्णय अलपत्र परेका हाम्रासामु छर्लङ्ग छन् । यसैले अहिलेको निर्णय पनि कतै अलपत्र त पर्ने होइन्, यो हामी समग्र निजी क्षेत्रले गर्ने शंकाको सुविधा हो ।’
     
    गौतमबुद्ध विमानस्थल संचालनमा आउँदा समग्र मुलुकले फाइदा लिन्छ भन्नेमा कुनै द्विविधा नरहेको बताइएको छ । ‘यसर्थ वर्तमान सरकारका प्रधानमन्त्री र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई धन्यवाद व्यक्त गर्दै गौतमबुद्ध विमानस्थललाई फूलफेजमा संचालन गरेर पर्यटन व्यवसायीसहित समग्र निजी क्षेत्रमा नयाँ हौसला सिर्जना गर्न अनुरोध गर्दछौं’, श्रेष्ठले विज्ञप्तीमार्फत् भनेका छन् ।

    IMG-20240814-WA0004.jpg