२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

अर्थमन्त्री पौडेलले भने–लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं

शुक्रवार , श्रावण १८, २०८१

काठमाडौं, १८ साउन ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । 

अर्थ मन्त्रालयमा शुक्रबार (आज) आयोजित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्यहरु पूरा गर्नका लागि आ–आफ्नो जिम्मेवारी अनुसार परिणाम निकाल्न निर्देशन दिएका हुन्  । उनले राष्ट्रिय महत्वका, गौरवका आयोजना र प्रतिफल दिने आयोजनाहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । 

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ बजेट कार्यान्वयन कार्य योजना तयार परेको छ । मन्त्रालयले अघिल्लो आर्थिक वर्षका लागि १७५ वटा माइलस्टोन निर्धारण गरेको थियो जसमध्ये ५१ वटा सम्पन्न भए भने ९६  वटा जारी अवस्थामा छन् । २८ वटाको काम सुरु हुन सकेन ।  

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेश कुमार घिमिरे, अर्थ मन्त्रालय अन्तर्गतका निकाय र विभाग प्रमुखहरुले प्रगतिको समीक्षा गर्नुका साथै सुझाव दिएका थिए ।