२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

विद्युत महसुल नतिर्ने उद्योगको लाइन तीन महिनाका लागि जोडिएको हो : कुलमान घिसिङ

शुक्रवार , श्रावण ११, २०८१

  • 946
    Shares
  • 946
    Shares
  • काठमाडौं, ११ साउन । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगको लाइन तीन महिनाका लागि जोडिएको बताएका छन् । 

    सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा घिसिङले बोर्ड बैठकको निर्णय अनुसार तीन महिनाका लागि विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको भन्दै त्यसपछि पनि वक्तौता नतिरे आवश्यक प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले अदालत र लेखा समितिको आदेश अनुसार नै प्राधिकरणले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको बक्तौता रकम उठाउन खोजेको बताए । घिसिङले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापत अधिकांश उद्योगहरुले बिल अनुसारको रकम तिरिसकेको भन्दै केहि उद्योगहरुको बाँकी रहेको जानकारी दिए । उनले डेडिकेटेड लाइनको बिलिङमा कुनै समस्या नरहेको उल्लेख गरे । 

    बैठकमा ऊर्जामन्त्री दिपक खड्काले भने डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको रकम लिनुपर्नेमा सरकार स्पष्ट रहेको बताए । उनले उद्योगीहरुले आफ्नो उत्पादन गरि आयआर्जन गरि बाँकी रकम तिर्नसक्ने गरि विद्युत लाइन नकाट्न भनिएको उल्लेख गरे । 

    बैठकमा समिति सदस्यहरुले उद्योगीहरुले बिलिङमा समस्या देखाएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए । समिति सदस्य प्रेम आलेले डेडिकेटेड र टंक लाइनको सुविधा लिएका केहिले तिर्ने र केहिले नतिर्ने कारण बिलिङको समस्या रहेको गुनासो आएको उल्लेख गरे । प्राधिकरणले समयमा नै विल नपठाउदा बक्तौता नतिरेको भन्ने उद्योगीहरुको गुनासो सम्बोधन गर्न बिलिङमा देखिएको समस्या समाधान गर्नुपर्ने उनले बताए ।

    त्यस्तै समिति सदस्य राजेन्द्र केसीले पनि बिलिङमा समस्या देखिएको गुनासो समाधान गर्न प्राधिकरणलाई सुझाव दिए ।

    डेडिकेटेड र टंक लाइनको वक्तौता भुक्तान नभएको भन्दै प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल काटिएका लाइन जोड्न निर्देशन दिए थिए ।