
सोमवार , आषाढ ३२, २०८१
काठमाडौं, ३१ असार ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रूपैयाँ बढाएको हो । बढेको मुल्य मंगलबारदेखि लागू हुनेछ ।
भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको जनाएको छ । निगमले तय गरेको नयाँ मूल्य मुलुकभर विभिन्न ठाउँअनुसार लागू हुनेछ ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ ।
त्यसै गरी तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल लिटरको १६० रूपैयाँ पर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij