
शुक्रवार , आषाढ २९, २०८१
काठमाडौं, २८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार (आज) प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन् । उनले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदैछन् । आज बिहान ११ बजे बस्ने संसद् बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रश्ताव पेश गर्ने र उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सरकारमा रहेको नेकपा एमालेले सरकारबाट बाहिरँदै दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुनःविश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
एमालेले नेकपा (माओवादी केन्द्र) सँगको सत्ता साझेदारी तोडेर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन र त्यसको नेतृत्व गर्ने तयारी थालेको छ । सो बमोजिम कांग्रेस–एमालेबीच आलोपालोले सरकार चलाउने सहमति समेत भएको छ । सहमति बमोजिम पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
सरकारका दुई ठूला दल एमाले–कांग्रेसले दाहाललाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन् । अशोक राई नेतृत्वको जसपाले पनि सहरकारलाई दिएको सहमति फिर्ता लिएको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्दछ । जसमा हालसम्म प्रधानमन्त्री प्रचण्डसँग माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २१ र नेकपा (एकीकृत समाजवादी) को १० गरी जम्मा ६३ मत छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछिल्लोपटक ११ पुस २०७९ मा प्रधानमन्त्री बनेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij